Logo
Logo

एकता र सद्भावको पक्षमा उभिन धरानवासीलाई प्रधानमन्त्रीको अपिल


630
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गरेका छन् । केही दिनयता धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावको वातावरण बनाइराख्न आग्रह गरेका हुन् ।

यस्ता गतिविधिले सामाजिक एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको भन्दै उनले संवाद र सहाकार्यका माध्यामबाट समस्या समाधानका लागि पनि अपिल गरेका छन् ।

‘एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेरमात्र सही अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु’, प्रधानमन्त्रीले भनेका छन्, ‘धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक सङ्घसंस्था, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

विमतिलाई संवादको माध्यमबाट समाधानमा पुर्याउन राजनीतिक शक्ति, विभिन्न सामाजिक संस्था, धार्मिक समुदाय र त्यसका अगुवा एवं नागरिक समाजको भूमिका महत्त्वपूर्ण रहनेमा प्रधानमन्त्री दाहालले जोड दिएका छन् । धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिनेबारे पनि उनले नागरिकलाई स्मरण गराएका छन् । सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट हरसम्भव पहल गर्नका लागि धरानवासीलाई पनि प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्