
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाल राज्यका उच्च तहका हरेक बैठकमा कुन हैसियतमा बसिरहेकी हुन् भनेर प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमाविशेष समय लिएर बोल्दै सांसद सिंहले प्रधानमन्त्री प्रचण्डले छोरीलाई राज्यका हरेक उच्च तहका बैठकमा सहभागी गराएर गणतन्त्रमाथि नै खतरामा पारेको भनेर प्रश्न उठाएका हुन् । गणतन्त्रलाई नेताको शासनमा परिणत गर्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।
‘जनताको तन्त्र हो गणतन्त्र । तर नेताको शासन कसरी भयो ? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने ? म प्रश्न गर्न चाहन्छु हामीले कस्तो व्यवस्था गरेका छौं ? कुनै पूर्वप्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन् ?,’ उनले भने ।
त्यस्ता गतिविधिबाट व्यवस्थालाई नै खतरा रहेको सांसद सिंहको भनाइ थियो । ‘अथोरिटी विदाउट अकाउन्टिबिलिटी चलेको छ, सबैभन्दा बढी खतरा त्यहाँबाट छ । गणतन्त्रलाई कहिँबाट खतरा छ भने चार–पाँच जना नेता र उनीहरूका बच्चाहरूबाट छ,’ उनले भने, ’जम्मै भ्रष्टाचारको जरो त्यहाँ छ ।’














