Logo
Logo

कांग्रेसद्वारा चितवनका १८ जना बागीको निलम्बन फुकुवा


756
Shares

चितवन । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले मंगलबार जिल्ला कार्य समितिलाई पत्र लेखी १८ जना विद्रोही नेतालाई कारबाही फुकुवा भएको जानकारी गराएको छ ।

कारबाही फुकुवाको पहिलो नम्बरमा दिनेश कोइराला रहेका छन् । उनी एमाले अध्यक्ष केपी ओली आपफैले निर्वाचन आयोगलाई पत्र लेखेर आफ्नो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर समर्थन गरेका गठबन्धनका बागी उम्मेदवार बनेका थिए । चितवन ३ मा बागी उठेपछि उनी केन्द्रीय सदस्यबाट निलम्बनमा परेका थिए ।

स्थानीय निर्वाचनताका भरतपुर महानगरमा मेयर पदमा जगन्नाथ पौडेललाई गठबन्धन उम्मेदवार रेनु दाहालको विरुद्ध उम्मेदवार बनाई उनका प्रचारमा मुख्य भूमिका खेलेका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तत्कालीन महासमिति सदस्य मीना खरेललगायतको भने निलम्बन फुकुवा गरिएको छ ।

गत चैत १९ गते केन्द्रीय कार्यसम्पादन बैठक बसी वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवार जिताउन भूमिका खेल्ने नेताहरूलाई निलम्बन फुकुवा गर्ने निर्णय गरिएको थियो । सोहीअनुरूप गत वैशाखको उपचुनावमा आफ्ना उम्मेदवार जिताउन बारा, तनहुँ र चितवनमा भूमिका खेल्ने नेताहरूको जिल्लाको सिफारिसका आधारमा निलम्बन फुकुवा कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले बताए ।

१८ जनाको निलम्बन फुकुवा गर्दा स्थानीय निर्वाचनमा भरतपुर महानगरको मेयरका उम्मेदवार रेनु दाहालको विरुद्धमा उम्मेदवारी दिएका जगन्नाथ पौडेलको भने निलम्बन फुकुवा गरिएको छैन । जिल्ला कार्यसमितिले केन्द्रीय अनुशासन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछानेको पक्षमा भाषण तथा भोट नै मागेको भनेर रिपोर्टिङ गरेपछि उनको निलम्बन फुकुवा नभएको हो ।

प्रतिक्रिया दिनुहोस्