काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा भएको आजको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको जानकारी दिए ।

‘दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा छौँ’, उनले भने ।
निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन् ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले मन्त्रालयको नीतिगत सुधार र योजनाबद्ध कार्यक्रम अघि बढाइने बताए ।
बैठकमा समिति सभापति राजकिशोर यादवले मन्त्रालयको नीतिगत सुधार र सामूहिक पहलकदमीका लागि मन्त्रलाईलाई समितिले भरपुर सहयोग गर्ने विश्वास दिलाए ।
समितिको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ब्रिफिङ लिएको हो । मन्त्रालयका सचिव भरतमणि सुवेदीले मन्त्रालयको कार्य प्रगतिबारे प्रस्तुति दिएका थिए ।
विमानस्थल सञ्चालन किन नगरेको ? सांसद
आजको बैठकमा सांसदहरुले मुलुकमा विमानस्थलको प्रभावकारी सञ्चालन गर्न मन्त्रालय र मातहत निकायको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा समिति सदस्यले दबाबका भरमा विमानस्थल निर्माण गर्ने प्रवृत्ति बन्द गर्न र भएका विमानस्थलको व्यावसायिक प्रयोजनमा ल्याउन सुझाव दिए । अर्बौं खर्चेर बनाइएका हवाई पूर्वाधारको प्रभावकारी सञ्चालन नहुँदा मुलुकलाई आर्थिकरुपमा भार बढिरहेको उनीहरुको भनाइ थियो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि दीर्घकालीन योजना बनाउन पनि सांसदहरुले माग गरेका छन् ।
सांसद डा धवलशम्शेर जङ्गबहादुर राणाले विमानस्थल बने पनि प्रभावकारी सञ्चालन हुन नसकेको बताए । उनले हवाई पूर्वाधारमा गरिएको लगानीको प्रतिफल कहिले प्राप्त गर्ने भनी प्रश्न गरे । सांसद राणाले नेपाललाई हवाई रुट दिनेबारे भारतसँग भइरहेको पछिल्लो प्रगतिबारे जानकारी गराउन पनि माग गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मुलुकभर हाल ५५ वटा विमानस्थल छन् । तीमध्ये ३४ वटा सञ्चालनमा छन् भने २१ वटा विमानस्थल बन्द छन् । त्यसैगरी दुई वटा विमानस्थल निर्माणाधीन छन् ।
सांसद उदयशम्शेर जङ्गबहादुर राणाले आन्तरिक विमानस्थलको क्षमता अभिवृद्धिका लागि टर्मिनल भवनलगायतका पूर्वाधार निर्माणमा अर्बौं रकम खर्च भएको भन्दै ती विमानस्थलको दिगो व्यवस्थापनको योजना अभाव रहेको बताए ।
उनले विराटनगर, भरतपुर, नेपालगञ्जलगायत विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि ठूलो रकम खर्च भएको भन्दै अहिलेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आवश्यकता र औचित्यताका आधारमामात्रै विमानस्थलको स्तरोन्नत्ति गर्न आग्रह गरे ।
सांसद एकनाथ ढकालले नेपालमा विदेशी पर्यटक आगमन बढाउन मन्त्रालयले प्रभावकारी नीति र योजना ल्याउनुपर्ने खाँचो औँल्याए । उनले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सुधार गरी निगमको सेवालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराए ।














