काठमाडौं । सरकारले संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक २०८० लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो ।

यसअघि नै निजामती विधेयक कानून, अर्थ मन्त्रालय र लोकसेवा आयोगबाट सुझावसमेत लिइसकिएको थियो । साथै, मन्त्रिपरिषद बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन नियमावली २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति स्वीकृत गर्ने निर्णय भएको छ । साथै, संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० पनि संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु :
– तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने ।
– संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने ।
– निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने ।
–स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने ।
– चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने ।
– संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने ।














