Logo
Logo

अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री


945
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन् । इजिप्टमा आयोजित कार्यक्रममा सहभागी भएर आइतबार नेपाल फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुरा गर्दै सो कुरा बताएका हुन् ।

गत सोमबार मकवानपुर थाहा नगरपालिका १० घर भई हाल काठमाडौंको बाफल बस्ने पाँच वर्षीय रेजिशा गोपालीको समयमा उपचार नपाउँदा अस्पतालमा मृत्यु भएको आफन्तले बताएका छन् । बिरामी भएर छट्पटाइरहेकी बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको निधन भएको आफन्तको आरोप छ । मन्त्री बस्नेतले भने– ‘यस घटनाबारे म बाहिर हुँदा पनि चासोका साथ हेरेको छु । समयमा उपचार नपाएर बालिकाको मृत्युमा भएको भन्ने छ । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ । मैले कारबाही नै गर्नुपर्छ भनेको छु ।’

बालिका मृत्यु प्रकरणको छानबिन गर्न कान्ति बाल अस्पतालले समिति गठन गरिसकेको छ । सो घटनाको सत्यतथ्य छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ ।

५ देखि ८ तारिखसम्म इजिप्टको राजधानी कायरोमा सम्पन्न जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर मन्त्री बस्ने स्वदेश फर्किएका हुन् । कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको जिकिर गर्दै मन्त्री बस्नेतले इजिप्टका स्वास्थ्य मन्त्रीले यसको आवश्यकतालाई ध्यानमा राखेर अर्को वर्ष पनि यो कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्