काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरोधी अभियान रोक्न विभिन्न प्रयासहरू भइरहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित ज्यापू समाज यलको ३० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले पद मात्रै खाएर बसोस् र सुशासनको अभियान अगाडि नबढोस् भनेर अनेक तिकडमका प्रयास भइरहेको बताए ।
सुशासनको पहिलो शर्त भ्रष्टाचारको अन्त्य भएको बताउँदै सरकारले भ्रष्टाचारविरोधी अभियान अगाडि बढाइएको उनको भनाइ थियो। तर उक्त अभियान असफल पार्न विभिन्न हतकण्डाहरू देखा परेको उनले बताए ।

उनले भने, ‘सरकारले सुशासनको पहिलो शर्त भनेर भ्रष्टाचारविरोधी अभियान अगाडि बढाएको छ । तर यसलाई असफल पार्न विभिन्न हतकण्डाहरू देखा पर्न थालेका छन् । सुशासनको अभियान अगाडि नबढोस्, यसले बिराम लिओस् र फेरि तैँ चुप मै चुप होस्, जस्तो पहिला छ त्यस्तै यथास्थिति कायम होस्, पद मात्रै खाएर बसिराखोस् भनेर नयाँ किसिमका समस्याहरू तिकडमहरू देखा पर्न थालेका छन् ।’
तर पनि सुशासनको अभियान जारी राख्ने उनले बताए। उनले भने, ‘म कबुल गर्न चाहन्छु । शंकल्प घोषणा गर्छु । हामी विश्राम लिने छैनौँ । सुशासनको अभियान जारी राख्नेछौँ । साह्रा षड्यन्त्र र हर्कत असफल गर्न अगाडि बढ्नेछौँ ।’
राजनीतिक परिवर्तनपछि केही सकारात्मक कामहरू भएको उनले बताए । यद्यपि, नेपाली जनताले चाहेजस्तो विकास र समृद्धिले फड्को मार्न नसकेको उनको भनाइ थियो ।














