
काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज बुधबार दिउँसोसम्म एमाले पार्टी कार्यालयमा राखिने भएको छ । आज दिउँसो १२ बजेसम्म उनको शरीर पार्टी कार्यालयमा राखिने र तयसपछि बालुवाटारस्थित घर लैजाने एमालेले जनाएको छ ।
बुधबार दिउँसो १ बजेपछि नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिने नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि मंगलबार बिहानदेखि उनको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालयमा राखिएको छ ।
नेम्वाङको बिहीबार बिहान ११ बजे अन्तिम संस्कार गर्ने तयारी छ । त्यसअघि धार्मिक, सांस्कृतिक तथा पारिवारिक विधिहरु पूरा गर्नुपर्ने भएकाले आज दिउँसो १ बजेपछि पार्थीव शरीर निजी निवासमा राखिने भएको हो ।
प्रतिनिधि सभा सदस्य एवम् एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ मंगलबार बिहान आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । उनलाई मंगलबार बिहान १ः५० बजे त्रिवि शिक्षण अस्पतालमा पु¥याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।














