Logo
Logo

नेपालमा पहिलोपटक पाठेघर क्यान्सरविरुद्धको खोप लगाउन सुरु


630
Shares

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप दिन सुरु गरेको छ ।

बुधबार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोप अभियानको सुरुवात गरेका हुन् ।

नेपालमा पहिलोपटक डेमोस्ट्रेसनका रुपमा १४ पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई यो खोप दिन सुरु गरिएको हो । खोप सातै प्रदेशका प्रदेश स्तरीय अस्पतालबाट दिइनेछ । पहिलो चरणमा नौ हजार ५ सय किशोरीलाई खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ ।

एचपीभी खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउनेछन् । खोप लगाउन उमेर खुल्ने प्रमाण लिएर आउन आग्रह गरिएको छ । एचपीभी खोप अभियान पहिलो चरणमा सात प्रदेशका सात अस्पतालबाट लगाउन पाइने छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रसूति गृहसहित कोसी प्रदेशमा कोसी अस्पताल, मधेस प्रदेशमा नारायण अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाउन पाइनेछ ।

एचपीभीविरुद्धको खोपले पाठेघरको क्यान्सरविरुद्ध काम गर्छ । प्रजनन् उमेरमा प्रवेश गर्दै गरेका र सेक्सुअल कन्ट्याकमा नआएका किशोरीलाई लक्षित गरी खोप दिन लागिएको हो । यो खोप ६ महिनाको अन्तरालमा दुई डोज लगाउनु पर्छ ।

खोप लगाउन जन्ममिति खुल्ने कागजात लिएर तोकिएका अस्पताल पुग्नुपर्ने हुन्छ । डोज पूरा गरेकाहरुमा एचपीभीबाट हुने संक्रमणबाट बच्ने सम्भावना ९५ प्रतिशतसम्म हुने खोप महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्