
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी, युन्नान प्रान्त प्रचार विभाग प्रमुख चङ यानले नेपाल र युन्नान प्रान्तको विविध क्षेत्रको विकासका लागि दुवै देशका सञ्चारमाध्यमले मिलेर काम गर्ने बताएका छन् ।
नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार काठमाडौं आइपुगेका चङले नेपाल चीन मिडिया फोरमद्वारा बुधबार आयोजित समारोहमा नेपाल र युन्नान प्रान्तको भूगोल, तापक्रम, बोट बिरुवा, जनावर आदिमा समानता पाइने जनाउँदै न्यू मिडिया आदिमार्फत नेपाल चीन दुवैको पर्यटन विकास गर्न गृहकार्य गरिने जानकारी दिएका हुन् ।
उनले ससाना भिडियो, चलचित्र आदि बनाएर नेपाल र चीनको युन्नानलगायत क्षेत्रको इतिहास, संस्कृति र जनजीवनबारे प्रचारप्रसार गर्न पहिलो चरणमा मिडियाबाट काम गरिने बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को नेपाली प्रतिनिधिमण्डल र नेपाली नागरिकलाई फलफूल, फूललगायत बोट बिरुवा, तरकारी, चिया उत्पादन आदिको राजधानी मानिएको युन्नानमा पनि भ्रमण गर्न आग्रह गरे ।
युन्नान सूचना कार्यालयका नायब महानिर्देशकलाई योङले बिआरआइअन्तर्गत चीन र लाओसबीच रेलवे सेवा सञ्चालनमा आएको र यसबाट लाओसीहरूको जीवनस्तर एकदमै बढेको जनाउँदै आगामी दिनमा नेपाललगायत दक्षिण एसियाका पत्रकारलाई तालिम दिइने र भिडियो आदि बनाउन सहकार्य गरिने बताए ।
चिनियाँ प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बेल्ट एन्ड रोड इनिसियटिभ आरम्भ भएको १० वर्ष र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चौथो वर्ष प्रवेशका अवसरमा नेपाल र युन्नानका सरकारी पदाधिकारीलाई मिडिया क्षेत्रमा सहकार्य गर्न आग्रह गरे ।
उनले नेपाली पत्रकारका लागि चिनियाँ भाषा र तिनका सन्ततिलाई युन्नानमा व्यावसायिक सीप प्रदान गर्न प्रतिनिधिमण्डललाई आग्रह गर्दै यहाँ नेपाल, चीन, भारत र भुटानका पत्रकारको सम्मेलन गर्न पनि आह्वान गरे ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले १७ वर्षअघि चीनको भ्रमण गरेका नेपाली पत्रकारले स्वदेश फर्केपछि मिडिया फोरम खोलेको र यसले पुस्तक प्रकाशन, गोष्ठी आदि गरिरहेको तथा यसै संस्थामार्फत हालसम्म पाँच सय पत्रकार, बुद्धिजीवी, पूर्वमन्त्रीले उत्तरी छिमेकी देशको भ्रमण गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल आठ दिनसम्म चीनमा रहने र त्यसले कैलाश मानसरोवरको पनि भ्रमण गर्ने बताए ।
कार्यक्रममा पूर्वराजदूत कमलप्रसाद कोइरालाले चीनको प्रगतिबाट नेपाललाई धेरै फाइदा हुने विश्वास व्यक्त गरे । यस्तै,े पत्रकार पुष्पराज प्रधानले चीनले नेपालमा अहस्तक्षेपका साथ विकासका लागि सहयोग गरिरहेको जनाउँदै नेपाली चीनको सहायता आएको हेर्न इच्छुक रहेको विचार व्यक्त गरे ।
सो अवसरमा फोरमद्वारा प्रकाशित ‘नेपालीको नजरमा सि चिनफिङ’ (सि चीनफिङ थ्रु नेपलिज आइज) शीर्षक द्विभाषिक पुस्तक विमोचन पनि गरिएको थियो । कृतिमा नेपाल चीन सम्बन्ध, चिनियाँ राष्ट्रपति सिको सफलताको रहस्य, उनको नेपाल भ्रमण र विशेष स्नेह, उनप्रति नेपाली राजनीतिकर्मीको धारणा आदि विषय समाविष्ट छ ।
चिनियाँ नेतृ चङकै उपस्थितिमा ‘जनआस्था साप्ताहिक’ र ‘युन्नान डेली मिडिया हाउस’का अध्यक्ष ह चुकुनले सो साप्ताहिकमा युन्नानका खबर प्रकाशन गर्नेबारे एकवर्षे सम्झौता गरे । ‘जनआस्था साप्ताहिक’ले आजैदेखि युनान पृष्ठ आरम्भ गरेको छ ।














