काठमाडौं । शिक्षा विधेयकप्रति काठमाडौं महानगरले पनि असहमति जनाएको छ । महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विधेयकमा आफ्नो पनि असहमति रहेको बताएका हुन् ।
बुधबार साँझपख समाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै मेयर शाहले सबै भूगोलको लागि एकै किसिमको शिक्षा ऐन जारी हुँदा आफ्नो पनि असहमति रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘झन्डै २ लाख ५० हजार हजार विद्यार्थी र दश हजारभन्दा धेरै शिक्षक हाम्रो मातहतमा छन् । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ ।’
यस्तै, स्थानीय तहले आफ्नो आवश्यकताअनुसार शिक्षा नीति बनाउने अधिकार रहेको समेत उनले उल्लेख गरेका छन् । शाहले लेखेका छन्, ‘काठमाडौं र जुम्लाका आवश्यकता फरक छन् । सोहीअनुरूप शिक्षा नीति फरक हुनुपर्छ ।’
उनले संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु नै संविधानको बर्खिलाप भएको दावी गर्दै भनेका छन्, ‘संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधानविपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन ।’
उनले स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे अदालतका फैसलाबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराएका छन् ।
साथै, उनले शिक्षा विधेयकमा असन्तुष्ट भएता पनि शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउन अनुरोध गरेका छन् । मेयर शाहले भनेका छन्, ‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपु¥याउनुहोला । यस्ता अवरोध पु¥याउनेलाई कानुनअनुसार कारबाही हुनेछ ।’














