Logo
Logo

राम्री हुनुहुन्छ, बिहे गरौँ भन्छन्-सीता सिंगक, गायिका तथा मोडल


- दृष्टि न्युज/संवाददाता


‘फेदाप हाङ्मा’ अर्थात फेदापकी रानी । यसै एल्बमबाट चर्चामा आएकी गायिका हुन् सीता सिंगक । एल्बमको नामजस्तै छिन्, तेह्रथुम, फेदाप–३ की सीता अर्थात ‘रुपकी रानी’ । सीताले गायन क्षेत्रमै एक दशक बिताइसकेकी छन् । तर, मिहिनेत गरेअनुरुप चर्चा भने छैन । कारण, उनी बढी मातृभाषा (लिम्बू) गीत गाउँछिन् । सीता भन्छिन्, ‘पहिले–पहिले मातृभाषाका गीत गाउनेलाई मिडियाले वास्ता गर्दैनथिए । तर, अहिले त्यस्तो छैन ।’ लिम्बू भाषाकै पालम गाएर सांगीतिक करिअर बनाएकी उनी भन्छिन्, ‘अहिले मातृभाषा र नेपाली आधुनिक गाउनेलाई उस्तै हेरिन्छ । भारतको सिक्किमतिर त नेपाली गीत गाइरहँदा पनि लिम्बू भाषाको पालम गाउन लगाइन्छ । यो खुसीको कुरा हो ।’ पछिल्लो समय गायनमै व्यस्त रहेकी गायिका तथा मोडल सीता सिंगकसँग एमपी सुब्बाको जम्काभेट :

आजभोली के गर्दै हुनुहुन्छ ?

कार्यक्रम र रेकर्डिङहरुमै व्यस्त छु । हिजोमात्र (आइतबार) सिक्किमबाट फर्केकी हुँ । कक्फेक्वा तङ्नामको कार्यक्रमका लागि सिक्किम गएकी थिएँ । अब रेकर्डिङमै व्यस्त हुनेछु ।

निकै व्यस्त हुनुहुन्छ है ?

चासोक तङ्नामलगत्तै कक्फेक्वा तङ्नाम आयो । यो एक महिना पुरै व्यस्त भएँ । चासोक तङ्नाममा पूर्वको विभिन्न स्थानमा कार्यक्रमहरुमा व्यस्त भएँ । त्यसपछि सिक्किम भ्याएर आएकी हुँ ।

तपाइँको स्वरमा मिठासपना छ, तर लिम्बू भाषामात्रै बढी किन ?

नेपाली भाषाका गीत पनि गाउँछु र गाउँदै आएकी छु । बढीचाहिँ आफ्नो मातृभाषाको गीत गाउँछु । सांगीतिक करिअरको सुरुवातै लिम्बू भाषाको पालमबाट भएको हो । मैले पूर्वेली लोकगीतहरु पनि गाएकी छु ।

गायन क्षेत्रमा लाग्नुभएको कति भयो ?

एक दशकभन्दा बढी भयो । २०६४÷०६५ सालदेखि गाउन थालेकी हुँ । तर, त्यतिखेर गायनलाई ‘फुलटाइम’ दिन पाइनँ । पढाइ र संगीत साधना गर्दै फाट्टफुट्ट गाउँथे त्योबेला । अहिलेचाहिँ फुलटाइमर भएकी छु ।

तपाइँको गायनमै दशक बित्यो । तर, मिहिनेत गरेअनुरुप चर्चा किन कम ?

जतिखेर मैले मातृभाषामार्फत गायनमा ‘करिअर’ सुरु गदैथिएँ, त्योबेला नेपाली मिडियाले मातृभाषाका कलाकारलाई वास्ता गर्दैनथियो । पछिल्लो समय त्यस्तो छैन । अहिले मातृभाषाका गीत गाएरै देश–विदेशको कार्यक्रम भ्याइरहेका छन् । मैले पनि मातृभाषा गीतबाटै नेपालका अलावा हङकङ, कोरिया, भारतको सिक्किमलगायतका मुलुकमा कार्यक्रम गर्न भ्याइसकेकी छु । नेपाली आधुनिक गीत पनि धेरै गाएकी छु ।

गायन तपाइँको रोजाइ कसरी बन्यो ?

मेरो पारिवारिक मोहोलले गर्दा हो । मेरो आमा–बाबा राम्रो पालम गाउनुहन्छ । म सानैदिन गाउन रुचाउँने मान्छे । सानो हुँदा म गुनगनाउँथे । त्यतिखेर दिदीहरुले स्वर राम्रो छ । गायनमै यसले केही गर्छ भन्नुहुन्थ्यो । मेरो गायनप्रति लगाव र पे्ररणा भनेको घर परिवार नै हो ।

तपाइँ मोडलिङ पनि गर्नुहुन्छ होइन त ?

पहिले गरेकी छु । तर, अहिले मलाई अभिनय र मोडलिङमा खाशै रुचि छैन । म सन् २०१५ मा ‘मिस मंगाल’ पनि भिडेकी थिएँ । तर, टप–११ मै रोकिएँ । विनर भएको भए मोडल बन्थेँ होला ।

फिल्ममा हिरोइनको प्रस्ताव आयो भने के गर्नुहुन्छ ?

फिल्ममा काम गर्ने मन छैन । पहिलेचाहिँ अलि–अलि रहर थियो । तर, अहिले गायिकाले अभिनय भन्दा गीत गाएकै राम्रो भन्ने लाग्न थालेको छ । त्यसैले फिल्मी अभिनयमा रुचि र रहर गर्न छाडेँ ।

तपाइँको माधुर्य स्वर र सुन्दर रुपमा लोभिनेहरु कति भेट्नुभएको छ ?

थुप्रै भेटिन्छन् नि । उमेरले म भन्दा स–सानाबाट प्रेम प्रस्तावहरु आउँछ । राम्री हुनुहुन्छ, विवाह गरौँ भन्छन् । तर, म म्याचुड भइसकेँ भन्छु । पत्याउँदैनन् ।

कस्ता–कस्ता फ्यान भेट्नुभएको छ ?

हरेक किसिमको भेटेकी छु । अरुसँग नाच्दा रिसाउँने र मैसँग मात्र नाचोस् भन्ने अनि कसैसँग नबोलोस् भन्ने खालका फ्यानहरु भेटेकी छु । तर, कलाकार भएपछि सबैसँग उस्तै व्यवहार गर्नुपर्छ । कलाकारलाई पनि दर्शक-श्रोताको माया चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्