Logo
Logo

भोज खाएर फर्केको मिनिट्रक दुर्घटना, ७ जनाको मृत्यु, ३७ घाइते


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । धादिङमा मिनिट्रकमा दुर्घटना हुँदा ७ जना मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । मंगलबार ज्वालामुखी गाउँपालिका-४ स्थित ढोलामण्डलीमाइको दर्शन गरी भोज खाएर फर्किदै गरेको रिजर्भ मिनिट्रक दुर्घटना भएको हो । उक्त मिनिट्रकमा ४५ जना यात्रु सवार थिए ।
मन्दिर दर्शनपछि धादिङवेशीतर्फ फर्किदै गरेको ग १ ख ८०१२ नम्बरको ट्रक नीलकण्ठ नगरपालिका–८ मैदी भन्ज्याङनजिकै सडकमै पल्टिएर दुर्घटना जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीले जनाएका छन् ।
दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका–२ का स्थानीय सुरेश गुरुङका अनुसार चालकले मदिरा पिएका थिए । जिल्ला अस्पतालमा उपचारको क्रममा सुरेशले भोजमा चालकलेसमेत रक्सी पिएकाले दुर्घटना भएको बताएका छन् । कच्ची बाटो सकिएको पीच सुरु हुने बित्तिकै ट्रक दुर्घटनामा परेको थियो । दुर्घटनास्थल नजिकै घर भएकाले स्थानीयका अनुसार होहल्ला र रमाइलो गर्दै आइरहेको ट्रक एक्कासी सडकमा बजारिएको थियो ।
ट्रकका चालकलाई प्रहरी निगरानीमै उपचारको लागि काठमाडौ पठाइएको प्रहरी प्रमुख रेग्मीले बताए । देव्रे मोड्ने क्रममा भित्तामा बजारिएर दुर्घटना भएको प्रत्यक्षदर्शी नीलकण्ठ नगरपालिका ७ का विशाल अधिकारीले बताएका छन् ।
दुर्घटनामा घाइते भएका ३७ मध्ये ११ जनालाई नेपाली सेनाको हेलिकप्टरमा र ४ जनालाई एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिए । उनका अनुसार सामान्य घाइते भएका ८ जना घर फर्किसकेका छन् । बा“की १४ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबै नीलकण्ठ नगरपालिका–२ माथिल्लो र तल्लो भुलभुले क्षेत्रका स्थानीय हुन् । घटनामा मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ का भुलभुलेका बिदुर गुरुङ, ध्वज बहादुर गुरुङ, सुनिल भनिने तिलकबहादुर गुरुङ, पुर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, बेलबहादुर गुरुङ र सेते गुरुङ रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्