
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । विश्वासको मत लिने अन्तिम म्याद नजिकिँदै गर्दा उनले आज नेकपा एमालेका ४ जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
मन्त्री बन्नेहरुको नाम भने सार्वजनिक गरिएको छैन । नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नवनियुक्त मन्त्रीहरु सबै नेकपा एमालेका हुने र उनीहरुको शपथ ग्रहण समारोह दिउँसो ३ बजे हुने जानकारी दिए ।
सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की पछिल्लो पटक गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आगामी २१ गतेभित्र विश्वासको मत लिइसनुपर्ने छ ।
उनले मुख्यमन्त्री बनेसँगै ३ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् ।














