काठमाडौं, ८ माघ ।
विमानस्थलको चेकिङको क्रममा गायिका आस्था राउत र प्रहरी जवानबीच भएको विवाद प्रकरणमा सहमति हुने सम्भावना बढेको छ । गायिका राउतलाई पक्राउ गरेर मुद्दा चलाउनु गलत भएको भन्दै आलोचना भएपछि प्रहरी छलफल गराएर मिलापत्र गराउनेतर्फ लागेको छ ।
प्रहरीले गायिका राउतको परिवारसँग कुरा गरिसकेको छ । जसअनुसार उनलाई प्रहरीले पक्राउ गर्ने छैन । परिवारले लिएर प्रहरीमा जाने छ । त्यहाँ दुवै पक्षबीच छलफल गराएर मिलापत्र गराउने प्रहरी तयारी छ । गायिका राउत हाल सिक्किममा छिन् ।
गत १ माघमा विमानस्थलको आन्तरिक टर्मिनलमा गायिका राउत प्रहरी जवान रमिता श्रेष्ठबीच विवाद भएको थियो । राउतले आफुलाई दुव्र्यवहार भएको भनेर फेसबुकमा राखेपछि प्रहरीले सिसिटिभी फुटेज सार्वजनिक ग¥यो । जसमा गायिका राउतले चेकिङमा असहयोग गरेको देखिन्छ ।
गायिका राउतले फेसबुक लाइभमार्फत प्रहरीको आलोचना गरेपछि जवान श्रेष्ठलाई उजुरी हाल्न लगाएर पक्राउ पूर्जी जारी गराएको थियो । सामान्य विषयमा प्रहरीले फौजदारी मुद्दा चलाउन लागेको भन्दै प्रहरीको आलोचना भएको थियो । कलाकारहरु समेत प्रहरीको विरुद्धमा उत्रिएका थिए । त्यसपछि प्रहरी सहमतितर्फ अघि बढेको हो । प्रहरीमा जाहेरी दर्ता भएपनि सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गर्न सक्ने प्रावधान छ ।
यो घटना मेट्रोको नेतृत्व क्षमतासँग जोडिएको एक प्रहरी अधिकारी बताउँछन् । ‘यो विषय पहिले नै मिलापत्र भइसक्नुपर्ने कुरा हो,’ एक प्रहरी अधिकारी भन्छन्,‘हाकिमहरु सिपाहीको हितमा रहेको देखाउन खोज्दा प्रहरी झन् विवादमा फस्यो, नेतृत्वले सही निर्णय गर्न नसक्दाको परिणाम हो यो ।’ प्रहरीलाई आलोचना गर्नेलाई कारबाही गरेर नभई सेवा सुविधा बढाएर सिपाहीहरुको मनोबल बढाउनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् ।












