Logo
Logo

कांग्रेसले गठन गर्यो विभिन्न समिति


882
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आसन्न महासमिति बैठकको तयारीका लागि विभिन्न समिति गठन गरेको छ । कांग्रेसको आइतबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । कांग्रेसले आगामी मङ्सिर १३, १४ र १५ गते काठमाडौँमा महासमितिको बैठक आयोजना गर्दैछ ।

आइतबार सम्पन्न बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं काठमाडौँ उपत्यकाका तीनै जिल्लाका पार्टीका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरूसमेत रहेका छन् ।

यस्तै कांग्रेसले महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा केन्द्रीय पदाधिकारीहरू, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यहरू रहेका छन् । समितिमा आवश्यकतानुसार सभापतिले थप सदस्यहरू मनोनयन गर्नेछन् ।

महासमितिको बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नेछन् भने समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन् । यसैगरी केन्द्रीय सभापतिले आवश्यकताअनुसार विभिन्न विषयमा अन्य समितिहरू गठन गर्न सक्नु हुने बैठकको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्