काठमाडौं, २८ माघ ।
विविधि विषयमा छलफलका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ। खासगरी पार्टीभित्रको विवाद अन्त्यका लागि शीर्ष तहका पाँच नेताको बैठक बस्न लागेको हो।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बैठक बोलाइएको छ। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई आमन्त्रण गरिएको छ।
पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षले बहुमतको आधारमा निर्णय सार्वजनिक गरेपछि संस्थापन र इतर समूहको दूरी बढेको थियो। केन्द्रीय समितिको निर्णय सच्चाउन संस्थापनइतर समूहले माग गर्दै आएको छ।
पुस ११ अघि पार्टी्भित्र सहमति खोज्न बनाइएको कार्यदलको पछिल्लो समय बैठक बस्न सकेको थिएन। उक्त कार्यदलभन्दा माथिल्लो तहमा छलफल भने जारी थियो। उपसभापति विमलेन्द्र निधि,पूर्वमहामन्त्रीद्वय सिटौला र सिंहबीच दुई पटक बैठक बसिसकेको छ।












