काठमाडौं । देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
सरकारले पनि विद्युतीय सवारी साधनको प्रवर्द्धनमा विशेष व्यवस्था गरेको छ । नीतिगत रुपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमशः विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको आकर्षण बढेको हो ।
पेट्रोल, डिजेलबाट चल्ने सवारीसाधन किन्दा सस्तोजस्तो देखिए पनि पेट्रोलियम पदार्थको भाउ वृद्धि, सर्भिसिङ खर्च र मर्मत गर्नुपर्दा पार्टपुर्जा महँगो हुने भएकोले विद्युतीय सवारीप्रति उपभोक्ताहरू लोभिएका हुन् ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पहिलो लटकमा भित्र्याएको बीवाइडीको ह्याचब्याक ‘डल्फिन’ गाडी सबै डेलिभर भइसकेको छ । कम्पनीका अनुसार उक्त गाडी नक्सालमा रहेको बीवाइडी शोरुमबाट ३० वटा र २० वटा विभिन्न डिलरबाट डेलिभरी गरिएको हो ।
यो गाडीको मूल्य नेपाली बजारमा ३९ लाख ८० हजार रुपैयाँ तोकेर बुकिङ खुलाइएको थियो । नाडा अटो शोमा उक्त गाडी तीन सय हाराहारीमा बुकिङ भएको थियो । डल्फिल बुकिङ गर्नेमा डाक्टर, महिला र बैंक तथा निजी संस्थाका कर्मचारीहरू बढी छन् ।
डल्फिन’ खरिद गर्ने ग्राहकहरूका लागि बैंकले ८० प्रतिशतसम्म ऋण दिने गरेको छ । जम्मा २० प्रतिशत नगद, बाँकी ८० प्रतिशत बैंक ऋण पाइने भएकोले पनि ‘डल्फिन’ कार उपभोक्ताहरूको रोजाइमा परेको हो ।
बीवाइडीको डल्फिनमा ७० किलोवाट आवरको मोटर दिइएको छ । उक्त मोटरले १७५ एनएम टर्क प्रदान गर्छ । कम्पनीका अनुसार बीवाइडीको ब्लेड टेक्नोलोजीबाट बनेको ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यसले सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।












