
काठमाडौं । नेकपा एमालेले आज बस्ने संसद बैठक अवरुद्ध गर्ने भएको छ । सरकारले ‘भेप (इलेक्ट्रोनिक सिगरेट) र ६० किलो बढी सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग बनाउने सहमति उल्लंघन गरेको भन्दै एमालेले संसद अवरुद्ध गर्ने भएको हो ।
बैठकमा सरकारी एजेन्डा प्रवेश गर्न नदिने तयारी भएको एमाले सचेत महेश बर्तौलाले जानकारी दिए । आज दिउँसो १ बजे बस्ने संसद बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने कार्यसूची रहेको छ । तर, संसदलाई सरकारी एजेन्डामा प्रवेश गर्न नदिने एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘सरकार संसदको बैठकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न चाहन्छ । मुलुकको समग्र राजनीतिलाई अविश्वास, धोकाधडी र आपसी अन्तरविरोधको पथमा लैजाने चेष्टा गर्दैछ,’ उनले भने, ‘सुन तस्करीबारे छानबिन तथा अनुसन्धानको लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि ग¥यो । तर त्यसलाई कार्यान्वयन गर्न सरकार तयार भएन ।’
उनले यसबीचमा सरकारसँग वार्ता, छलफलका लागि सदैव खुला रहेको बताए । संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दल र सरकारबीच गत भदौ ६ गते आयोग बनाउने सहमति भएको थियो । सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान टुंग्याएपछि आयोगले असोज ५ गतेदेखि काम थाल्ने बताइएको थियो । तर, हालसम्म पनि सरकार उचचस्तरीय आयोग बनाउन तयार छैन ।














