Logo
Logo

पर्वतमा बाढीले बगाएको जीप भेटियो, एक जना मृत भेटिए


819
Shares

पोखरा । पर्वतको कुश्मा नगरपालिका- ७ स्थित तमादीखोलामा आएको बाढीमा बगेर बेपत्ता भएको जीप ३ सय मिटर तल फेला परेको छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव पनि भेटिएको छ ।

शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो । बेपत्तामध्ये बिहान उछिट्टिएको अवस्थामा एक जनाको शव फेला परेको पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिए । उनी तिलोत्तमा नगरपालिका वडानम्बर ९ निवासी गोपालप्रसाद बस्याल रहेको भुसालले बताए ।

जीपमा सवार २ जना अझै वेपत्ता रहेका छन् । बिहानैदेखि बेपत्ता २ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गाडी चालकले भने आफू भागेर बाँच्न सफल भएको बताएका छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । गाडी रोक्न पछाडि पांग्रामा ढुंगाको आड लगाउँदा लगाउँदै बाढी आएपछि आफू भागेको तर ३ जनासहित जीपलाई भने बगाएकोे चालकले बयान दिएका थिए ।

गाडीलाई रोकेर यात्रु झार्ने तयारी गर्दा गर्दै माथिबाट एक्कासी रुख, ढुंगामुडा र माटोसहित आएको बाढीले जीप बगाएर बेपत्ता पारेको थियो । बिहान जीप ३०० मिटर तल टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको डिएसपी भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्