काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत हेरु हार्तान्तो सुबोलोबिच महासंघको सचिवालय, टेकूमा बुधबार भेटवार्ता भएको छ ।
भेटका अवसरमा दुई देशबिच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको छ । उक्त अवसरमा अध्यक्ष ढकालले इन्डोनेशिया सरकारले नेपाली पर्यटकलाई दिएको ‘अन अराइभल भिसा’को व्यवस्था पुर्नस्थापनाका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरेका छन् । इन्डोनेशियाले कोभिड महामारीदेखि नेपालीहरुलाई दिँदै आएको ‘अन अराइभल भिसा’ रोकेको थियो ।

नेपालका लागि गणतन्त्र इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत समेत रहेका ढकालले नेपाल र इन्डोनेशियाबिच व्यापार अभिवृद्धि गर्न नेपालबाट हुने निर्यात बढाउन सहजीकरणका लागि राजदूतलाई आग्रह समेत गर्नुभएको छ ।
उक्त अवसरमा राजदूत सुबोलोले अध्यक्ष ढकालले उठाएका विषयमा आफूले सक्दो सहयोग गर्ने र यसकालागि इन्डोनेशिया सरकारसँग कुराकानी गर्ने बताए । उनले नेपाली पर्यटकलाई दिइएको ‘अन अराइभल भिसा’को सुविधा पुर्नस्थापनाका लागि आफूले पहल गर्नेसमेत बताए ।
उनले नेपाली व्यवसायीले इन्डोनेशियामा धेरै वस्तुहरु निर्यात गरिरहेको बताउँदै थप निर्यातका लागि आफूले सहजीकरण गर्ने समेत बताए । नेपाल र गणतन्त्र इन्डोनेशियाबिच सुमधुर कुटनैतिक सम्बन्ध रहेको छ ।
दुई देशबिचको व्यापारिक सम्बन्ध पनि बढ्दो क्रममा रहेको छ । नेपालले कार्पेट, चिया तथा टेक्टटाइल जस्ता वस्तुहरु इन्डोनेशियामा निर्यात गर्छ भने इन्डोनेशियाबाट पाल्म आइल, मसिनरी र इलेक्ट्रोनिक्स सामग्रीहरु आयात गर्ने गर्छ ।












