काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी निराजन देवकोटा त्रिशुली नदीमा हाम्फालेर बेपत्ता भएको पाँच दिन भयो । धादिङ प्रहरी स्रोतका अनुसार उनको खोजी कार्य जारी छ । तर, अहिलेसम्म उनको केही पत्ता लागेको छैन ।
भीमफेदी हुँदै उनीसँगै हेटौंडाबाट काठमाडौं आएका लोन अफिसर राजिव न्यौपानेका अनुसार गत सोमबार बैंकको केन्द्रीय कार्यालय जाने भनेर देवकोटा र न्यौपाने एउटै मोटरसाइकलमा काठमाडौं आएका थिए ।

न्यौपानेका अनुसार काठमाडौं पुगेपछि देवकोटाले न्यौपानेलाई बल्खुमा छाडे । देवकोटाले उनलाई ‘एकैक्षण तिमी यही बस, म पाँच–दश मिनेटमा फर्कँन्छु’ भने । तर, कुर्दा–कुर्दा पनि देवकोटा आएनन् । त्यसपछि न्यौपाने बैंकको मुख्य कार्यालय लाजिम्पाट आए ।
न्यौपानेले दृष्टिन्युज अनलाइनलाई बताएअनुसार बैंकको केन्द्रीय कार्यालय पुगेपछि कार्यकारी प्रमुख ज्योती पाण्डेसँग भेटे । प्रमुख कार्यकारी पाण्डेले ‘हेटौंडा शाखाको विषयमा केही गुनासो आएको छ, त्यो के हो ?’ भने । त्यसपछि न्यौपानेले ऋण अफिसरको नाताले आफूलाई थाहा भएको कुरा ब्रिफिङ गरे । बाँकी कुरा देवकोटा आएपछि बताउँलान् भनेर त्यो साँझ न्यौपाने विदा भए, र होटलमा गएर सुते ।
तर, देवकोटा भोलिसम्म पनि बैंकको सम्पर्कमा आएनन् । भोलिपल्ट एक्कासी ‘देवकोटा त्रिशुली नदीमा हाम्फालेर बेपत्ता भएको’ समाचार आएपछि न्यौपाने आश्चार्यचकित बने ।
न्यौपानेका अनुसार हेटौंडाबाट सँगै काठमाडौं आउँदा आफूलाई तनाव भएको बताउँथे । ‘उनी हिम्मत हार्ने मान्छे होइनन्, जस्तोसुकै परिस्थितिसँग जुध्ने मान्छे हुन् तर किन आत्महत्या गरे । म पनि आश्चर्यमा परेको छु’ न्यौपानेले दृष्टिन्युजसँग भने ।
देवकोटाले अरु बेला के के कुरा गर्थे ? भन्ने दृष्टिन्युजको प्रश्नको जवाफमा न्यौपानेले भने, ‘म हिजो मेनेजर हुँदा धेरैलाई मैले सहयोग गरेँ, बैंक मर्जर भएपछि मेरै कष्टमर मेरो विरोधी भए । मलाई लखेट्न थाले । मेरै विरुद्ध नचाहिँदो उजुरी हालेर मलाई तनाव दिए ।’
न्यौपानेका अनुसार बैंक मर्जर भएपछि उनी थप तनावमा थिए । उनको कारोबारको विषयमा क–कसले कहाँ कहाँ उजुरी हाले, त्यो त मलाई थाहा भएन । तर, केही ऋणिले उनीविरुद्ध बैंकमा उजुरी हालेपछि उनले दुई महिनाअगाडि जागीर छाड्ने मनस्थिति बनाएका थिए । र, दुई महिनाअगाडि राजीनामा पनि दिए । तर, बैंकले उनको राजीनामा स्विकृत गरेन ।
यस विषयमा बैंकका कार्यकारी प्रमुख ज्योती पाण्डेसँग सम्पर्क गर्दा पाण्डेले भने, ‘मेगा बैंकसँग मर्जर गरेपछि हामीले मेगा बैंकका कर्मचारीहरुलाई हटाएनौँ । मर्जर भएपछि पुराना अनुभवी कर्मचारी हटाउँदा गलत सन्देश जान्छ भनेर मेगा बैंकका कर्मचारीलाई पनि प्रोत्साहित ग-यौँ । तर, उनले राजीनामा दिए । राजीनामा दिनुपर्ने कुनै कारण थिएन । त्यसैले उनको राजीनामा स्विकृत गरेनौँ । उनलाई आफ्नो समस्या बताउन काठमाडौं बोलाएको हो । उनी बैंकमा आएर सबै समस्याको बारेमा स्पष्ट कुरा गरेको भए समस्याको समाधान हुन्थ्यो । तर, काठमाडौंसम्म आएर पनि उनी बैंकको सम्पर्कमा आएनन् । पछि एकैपटक उनले आत्महत्या ग-यो भन्ने सुन्दा आश्चर्य र दुःख लागेको छ । यो खबर सुन्नासाथ हामीले नै प्रहरीलाई खबर ग-र्यौँ । उनको खोजीकार्य जारी छ ।’
बैंकले टर्चर गरेर उनले आत्महत्याको बाटो रोजे । काठमाडौं आउनुअघि ‘सुसाइट नोट’ लेखेर छाडेका छन् भनिन्छ नि ? भन्ने दृष्टिन्युजको प्रश्नमा कार्यकारी प्रमुख पाण्डेले भने, ‘बैंकमा आएर सबै कुरा गर्छु भनेर हेटौंडाबाट हिँडेका कर्मचारीले सुसाइट नोट लेख्नुपर्ने कारण केही थिएन । बैंकको एउटा जिम्मेवार कर्मचारीको हैसियतले सबै कुरा बताएको भए समाधान निस्कने थियो ।’
बैंकले टर्चर ग¥यो भन्छन् नि ? दृष्टिन्युजको प्रति प्रश्नमा कार्यकारी प्रमुख पाण्डे भन्छन्, ‘काठमाडौंसम्म आएर म सँग भेटेकै छैन, उनको समस्या के हो ? उनले बताएकै छैन । भेट्दै नभेटेको मान्छेलाई टर्चर दियो भन्ने प्रश्न नै गलत छ ।’














