
कोरोना भाइसरका कारण नेपालको पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे सोमबार मन्त्रालयमा सरोकारवालासँग छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडडनमन्त्री योगेशकुमार भट्टराई । तस्वीरः रासस
काठमाडौं, १३ माघ । सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गरे । भाइरसको प्रकोपलाई फैलन नदिन सरकारले तयारी गरिरहेको जानकारी दिए । कोरोना भाइसर नेपालमा फैलन नदिन सबै सरोकारवालाले उच्च सतर्कता अपनाउन र संक्रमण बढेको अवस्थामा नियन्त्रण गर्न सरकार तयार रहेको उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा हवाई मार्गबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षणका गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको र विमानस्थलमा कार्यरत कर्मचारीमा संक्रमण नहोस् भनेर पर्याप्त स्वास्थ्य सावधानी अपनाइएको बताए । उनले भने, ‘हामीले संक्रमण नसरोस् भनेर विमानस्थलका सम्पूर्ण कर्मचारीलाई मास्क, पन्जालगायत सुरक्षात्मक सामग्री उपलब्ध गराएका छौँ ।’
नेपालको पर्यटन प्रवद्र्धनमा छिमेकी चीनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको भन्दै उनले सो मुलुकबाट आउने पर्यटकलाई उच्च निगरानीमा राखिएको बताए । विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई विमानस्थलमा अलग्गै ‘पार्किङ’को व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
भाइरसको संक्रमण फैलन नदिन सरोकारवालाले पनि उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘यसलाई रोक्न निजी क्षेत्रको सक्रियता आवश्यक छ ।’ मन्त्री भट्टराईले लुम्बिनी, पशुपति, ठमेल, सौराहलगायत पर्यटकको उच्च चाप हुने क्षेत्रमा अंग्रेजी तथा चिनियाँ भाषामा सचेतनात्मक व्यानर टाँस्न आग्रह गरेका छन् ।
सरकारले काठमाडौँ उपत्यकामा कोरोना प्रभावितको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गर्ने व्यवस्था मिलाएको छ । आवश्यकतानुसार सातै प्रदेशका विभिन्न अस्पतालमा यसको उपचार गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।
विभाग र बोर्ड ‘फोकल पोइन्ट’
मन्त्रालयले पर्यटन विभाग र नेपाल पर्यटन बोर्डलाई भाइरससम्बन्धी फोकल पोइन्ट तोकेको छ । विभाग र बोर्डले सरोकारवाला निकायसँग समन्वय गर्ने गरी काम गर्नेछन् । भ्रमण वर्षमा आएका पाहुनामा यससम्बन्धी लक्ष्यण देखिए विभाग र बोर्डका अधिकारीले सम्बन्धित क्षेत्रसँग समन्वय गर्न मन्त्री भट्टराईले आग्रह गरे ।
छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिले भाइसरबारे उच्च सतर्कता अपनाउनु जरुरी भए पनि अनावश्यक अड्कलबाजी गरेर भ्रमण वर्षलाई प्रभावित बनाउने काम गर्न नहुनेमा जोड दिएका थिए ।












