
काठमाडौं । ‘अतिले खति गर्छ’ भन्ने उखान चरितार्थ गर्न धेरै टाढा पुग्नु पर्दैन, एमालेको प्रदेश अधिवेशनलाई हेरे पुग्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार, दम्भ र घमण्डले आजित भएका नेता तथा कार्यकर्ताले प्रदेश अधिवेशनमा मौन विद्रोह गरेका छन् । ओलीको बोली पार्टीभित्रै बिक्न छाड्यो ।
ओलीको निर्देशन विपरीत प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनाव भयो । ओलीले टिका लगाउन खोजेका नेताहरूलाई कार्यकर्ताले पाखा लगाए । टुक्का हालेर कार्यकर्तालाई हसाउँदै आएका ओली आफ्नै बोली पार्टीभित्रै बिक्न थालेपछि निराश बन्न पुगेका छन् ।
शक्ति संघर्षले एमालेभित्र ओलीको वर्चस्व र नेतृत्व कमजोर बन्न पुगेको छ । ओलीको कठोर निर्देशन पनि कार्यकर्ताले सहजै अस्वीकार गरिदिए । ओलीको निर्देशनलाई चुनौती दिँदै प्यानल निर्माणमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीकै नेताहरू प्रत्यक्ष संलग्न भए ।
एमालेभित्र आ–आफ्नो वर्चस्व स्थापित गर्न नेताहरूबीच तीब्र गुटबन्दी छ । एमालेमा अहिले नेतैपिच्छेको गुट रहेको छ । प्रदेश अधिवेशनमा देखिएको गुटगत राजनीतिको असर ११औँ महाधिवेशनमा देखिने पार्टी नेताहरू बताउँछन् ।
चितनवमा सम्पन्न एमालेको १०औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेतालाई उम्मेदवार बन्न रोक लगाएर खल्तीबाट पद बाँडेका थिए । ओलीले जसलाई चाहे, उनी पदमा पुगेका थिए । ओलीको खल्तीको पद अस्वीकार गरेका भीम रावल र घनश्याम भुसाललगायतलाई ओलीले पार्टीमा बस्नै नसक्ने अवस्थामा पुर्याएका थिए । भुसाल हाल एकीकृत समाजवादीमा छन् भने रावल भूमिकाविहीन अवस्थामा छन् ।
तर, प्रदेश अधिवेशनसम्म आइपुग्दा परिस्थिति फेरियो । ओलीले चाहेर मात्रै नहुने अवस्थामा एमाले राजनीति प्रवेश गर्यो । अधिवेशन सम्पन्न भएका ५ प्रदेशमध्ये ३ प्रदेशमा ओलीले नचाहेको नेतृत्व निर्वाचित भएको छ ।
प्यूठानका हरि रिमाललाई ओलीले लुम्बिनीको प्रदेश अध्यक्ष बनाउन खोजेका थिए । रिमाललाई अध्यक्ष बनाउन महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलगायतले पार्टीसत्ताको दुरुपयोग नै गरेका थिए । तर, निर्वाचनबाट कार्यकर्ताले राधाकृष्ण कँडेललाई अध्यक्ष बनाए ।
ओलीले प्यानल नबनाउन र आफूले भनेकै व्यक्तिलाई नेता बनाउन दिएको निर्देशन लुम्बिनीबाट संस्थागत रुपमा कार्यकर्ताले अवज्ञा गरे । यो क्रम त्यहाँ मात्रै सीमित भएन । बागमती, गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिममा पनि लागू भयो । मधेश प्रदेशमा पनि प्यानल प्रतिष्पर्धाको अभ्यास भइरहेको छ । ओलीले निर्देशन दिए । तर, ओलीकै नाममा गुटबन्दी भयो ।
गण्डकीमा सहमतिमा प्रदेश अध्यक्ष बन्ने भन्दै केन्द्रीय सदस्यहरु कृष्ण थापा, मायानाथ अधिकारी, रामशरण बस्नेत र राजीव पहारी प्रतिनिधि बनेका थिए । उनीहरूले ओलीसँग पटक पटक छलफलसमेत गरेका थिए । तर, सहमति नभएपछि ओलीले जसरी पनि अधिकारीलाई अध्यक्ष बनाउन अध्यक्षमण्डललाई भनेका थिए ।
अधिकारीलाई अध्यक्ष बनाउन ओलीकै निर्देशनमा महासचिव शंकर पोखरेल, स्थायी समिति सदस्य खगराज अधिकारीलगायतले हस्तक्षेप नै गरेका थिए । सोही कारण महाधिवेशन लम्बिएको थियो । तर, पोखरेल र अधिकारीको केही चलेन । सहमति नभएपछि दुई प्यानल बन्यो ।
अध्यक्ष ओली र महासचिव पोखरेलसहितका नेताहरूले अधिकारीको नेतृत्वमा एउटा प्यानल बनाए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङहरूले नवराज शर्माको नेतृत्वमा अर्को प्यानल बनाए । शर्माको प्यानलै निर्वाचित भयो । यसलाई एमाले कार्यकर्ताहरूले अधिकारीको हार नभइ एमाले अध्यक्ष ओली र महासचिव पोखरेलको हारको रुपमा चित्रित गरेका छन् ।
गृहप्रदेश लुम्बिनीमा आफू अनुकूलको नेतृत्व नआएपछि महासचिव पोखरेलको ध्यान गण्डकीमै थियो । उनी आगामी महाधिवेशनमा गण्डकीबाट शक्ति आर्जन गर्न चाहन्थे । तर, आफूले भनेजस्तो नहुने बुझेपछि अधिवेशनको बीचमै पोखरेल काठमाडौं लागेका थिए ।
बागमतीमा कैलाश ढुंगेल पार्टी सत्ताको दुरुपयोग गरी निर्वाचित भए । विष्णु पौडेल, आनन्द पोखरेल लगायतले ढुंगेललाई जिताउन पार्टी कार्यालयबाटै चिट बाँडेका थिए । बागमतीका तत्कालीन अध्यक्ष केशव पाण्डेलाई उम्मेदवार बन्न नदिन बन्धक नै बनाइएको थियो ।
पराजित कृष्णप्रसाद दाहालले पार्टी सत्ताको दुरुपयोग गरेर आफुलाई हराइएको गुनासो नेताहरूसँग गर्न थालेका छन् । उनले पार्टीभित्र दासत्व नस्वीकार्ने बताएका थिए । दाहाललाई समर्थन गरेका गोकुल बाँस्कोटा ओलीको ठाडो निर्देशनमा ढुंगेलको कित्तामा उभिएका थिए । त्यति हुँदा पनि दाहाल प्यानलबाट सचिवमा नवराज सिलवाल र उपसचिवमा भक्तकुमारी लामा निर्वाचित भए ।
कोशी प्रदेशको अधिवेशनबाट विनोद ढकाललाई ओलीसहितले घेराबन्दी गरेर हराएका थिए । ढकाललाई सपथ ग्रहणमा समेत बोल्न दिइएको थिएन । ढकालले निर्वाचनको निष्पक्षतामा प्रश्न उठाएका छन् । निर्वाचनको बेला आफूलाई सहयोग गर्ने कार्यकर्तालाई विभेदमा पारिए चुप नलाग्ने चेतावनीसमेत दिएका छन् ।
कोशीमा घनश्याम खतिवडा ५१२ मत प्राप्त गरी विजयी भएका थिए भने ढकालले ४३० मत ल्याएका थिए । अन्य पदाधिकारी पनि खतिवडा पक्षबाटै निर्वाचित भएका थिए ।
कर्णालीमा पनि अलगअलग प्यानल बनेको थियो । स्थायी समिति सदस्य यामलाल कँडेल पक्षका गुलाबजंग शाह ३ सय ६९ मत मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी मीनबहादुर शाहीले २ सय ७ मत मात्र ल्याएका थिए । उनी गोरखबहादुर बोगटी पक्षका उम्मेदवार थिए ।
कर्णालीमा शाहको प्यानलै निर्वाचित भएको हो । अध्यक्ष ओलीले शाहलाई ‘अनैतिक’ भन्दै अध्यक्ष नबनाउन अध्यक्षमण्डललाई निर्देशन नै दिएको एमाले कर्णाली प्रदेशका एक नेताले बताए । ओलीले अध्यक्ष बनाउन चाहेका शाही निर्वाचनबाट पाखा लागे ।
एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन जारी छ । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेता सहभागी अधिवेशनमा पूर्वउपाध्यक्ष भीम राजवललाई निशेष गरिएको छ । यद्यपि, रावल गृहजिल्ला अछाममै छन् ।
केन्द्रीय अध्यक्षमा आफुँसँग प्रतिष्पर्धा गरेपछि ओलीले रावललाई जिम्मेवारीविहीन बनाएर राखेका छन् । गत निर्वाचनमा ओलीले रावललाई टिकटसमेत दिएका थिएनन् ।
मधेश प्रदेशमा पनि नेताहरुले प्यानल निर्वाचनको तयारी गरिरहेका छन् । मधेश प्रदेशको नेतृत्वका लागि दर्जनौँ नेताहरूले दाबी गरिरहेका छन् । अन्य प्रदेशमा जस्तै मधेशमा पनि प्यानलगत प्रतिष्पर्धा हुने निश्चित छ ।














