Logo
Logo

इजरायली समकक्षीसँग परराष्ट्रमन्त्रीको फोन- नेपालीको शव ल्याउन सहजीकरणको आग्रह


378
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् । उनले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोन सम्बाद गरेका हुन् ।

परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरूको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन कोहेनसँग आग्रह गरेका थिए ।

मन्त्री साउदले घाइते भएका नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि आग्रह गरेका थिए । उनले आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गरेका थिए ।

मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपाली नागरिकलाई खानापिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन आग्रह गरेका थिए ।

उनले बंकरमा बसेका केही नेपाली नागरिकहरूले सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेका पनि मन्त्री कोहेनलाई जानकारी गराएका थिए ।

मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकको विवरण संकलन गरिरहेको र विवरण संकलन भएपछि नेपाल फिर्ता ल्याउन सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गरेका थिए ।

कुराकानीका क्रममा मन्त्री साउदले हमासले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यबद्ध रहेको बताएका थिए ।

विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरूको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेकोप्रति समवेदना व्यक्त गरेका थिए । उनले मृतकहरूको शव नेपाल फिर्ता पठाउनेबारे आवश्यक सहयो गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्