Logo
Logo

लभमा फसेपछि ‘करिअर’ डामाडोल हुन्छ-अमृता लिम्बू, गायिका/मोडल


- दृष्टि न्युज/संवाददाता


गायिका तथा मोडल अमृता लिम्बू झण्डै ६ महिना ओझेलमा थिइन् । उनी न सार्वजनिक कार्यक्रममा भेटिइन्, न त भिडियामै देखिइन् । त्यो समयमा यी गायिका के गर्दै थिइन् त ? जवाफमा उनी भन्छिन्, ‘ज्यान बनाउँदैथिएँ । मलाई केही तनाव पनि थियो । तनावमुक्त भएर निस्किएकी हुँ ।’ ज्यान बनाएको भन्ने उनको आउटफिटर्समै झल्किन्थ्यो । तर, केका लागि ज्यान बनाउन आवश्यक थियो ? मोडलिङसमेत रहेकी अमृताले भनिन्, ‘मुख्य कुरा स्वास्थ्य बन्नका लागि हो, त्यसपछि सुन्दर देखिनलाई ।’ जेनिफर लोपेज, वियोन्से, शाकिरा र सेलेना गोमेजजस्ता हलिउडका चर्चित गायिका तथा अभिनेत्रीबाट प्रभावित खैरो कपाल बनाएकी अमृता भन्छिन्, ‘वास्तवमा गायिकाहरु सुन्दर हुन आवश्यक छ । किनकि, पहिले पो रेडियोमात्र सुनिन्थ्यो, अहिले त यु–ट्युब र टेलिभिजनमा देखिनुपर्छ ।’ करिब डेढ सय गीतमा स्वर दिइसकेकी पाँचथर रानीगाउँकी गायिका अमृता लिम्बू राम्रो फिल्ममा अफर आए अभिनय गर्ने मुडमा छिन् । यिनै गायिका तथा मोडल अमृतासँग एमपी सुब्बाको जम्काभेट :

धेरै समय हराउनुभयो । के गर्दै हुनुहुन्छ ?

म हराएकी छैन । गीतसंगीतमै व्यस्त छु । चाँडै मेरो सोलो र युगल गीत आउँदै छ । अब भने निरन्तर दर्शक तथा श्रोतामाझ हुनेछु ।

हराएकी छैन भन्नुभयो । तर, कतै देखिनुभएन नि ?

यही क्षेत्रमै थिएँ । मलाई अलि सन्चो थिएन । गीतहरु त गाउदै थिएँ । तर, बाहिर चर्चामा आएन । अर्थात् ल्याउन सकिनँ । त्यसैले दर्शक÷श्रोताले हराएको आभाष भएको होला । तर म यही क्षेत्रमा छु ।

दर्शक/स्रोताबाट गायब भएपछि ज्यान बनाउनु भएछ नि ?

अँ, अलि अलि । हिरोइनहरु मात्र नभएर अब गायिका पनि सुन्दर हुनु जरुरी छ । हलिउडकै कुरा गरौँ, त्यहाँ अधिकांश गायिका आफैँ भिडियोमा देखिन्छन् । उनीहरुले आफ्नो ज्यान मेन्टेन्स गरिरहेका हुन्छन् । त्यस्तै, अब नेपाली गायिकाले पनि मेन्टेन्स गर्न आवश्यक छ । पहिले पो रेडियोमात्र सुनिन्थ्यो । अहिले टेलिभिजन र यु–ट्युबमा देखिनुपर्छ । जमाना भिडियोको छ । त्यसैले गायिकाहरु पनि नोटिसमा पर्न थालिएको छ ।

गायिकाहरुका लागि सुन्दरता अपरिहार्य भइसकेको हो ?

त्यस्तै लाग्छ । तर, आउटफिटमा मात्र सुन्दर भएर हुन्न । भित्रि सुन्दर हुन स्वास्थ्य राम्रो हुनुपर्छ । हुन त सबै मान्छे सुन्दर हुन्छन् । त्यसलाई कसरी प्रस्तुत भन्ने मात्र हो । सुन्दर बन्न कसलाई मन पर्दैन र ?

हलिउडको उदाहरण दिनुभयो । हलिउडका कुन गायिकाबाट प्रभावित हुनुहुन्छ ?

हलिउडमा एकसेएक गायिकाहरु छन् । जेनिफर लोपेज, शाकिरा, वियोन्से र सेलेना गोमेज मलाई मनपर्छ । उनीहरुको लाइफस्टाइलबाट म प्रभावित छु । हलिउडका यी चर्चित सेलिब्रेटीहरुले जन्मिँदै सुन्दर ज्यान लिएर आएका पक्कै होइन । उनीहरुले सुन्दर बन्नका लागि धेरै मिहिनेत र आफूलाई सुन्तुलनमा राख्न मेन्टेन्स गरेका छन् ।

गीतसंगीत र मोडलिङमा हुनुहुन्छ । कस्तो लागिरहेको छ ?

अहिलेसम्म रमाइलो लाग्दैछ । आफूले रोजेको क्षेत्र हो । म मात्र नभएर मैले गरेको कामबाट दर्शक/श्रोता खुसी हुनुपर्छ । उहाँहरु मेरो कामबाट खुसी नै हुनुहुन्छ । त्यसैले सन्तुष्टि मिलिरहेको छ ।

गायनसँगै मोडलिङ गर्नुहुन्छ । फिल्ममा हिरोइनका लागि आफर आयो भने गर्नुहुन्छ ?

मैले मोडलिङचाहिँ प्रायः आफ्नै गीतमा गर्दै आएकी छु । अरुको गीतमा चित्त बुझ्यो भने मात्र गर्छु । फिल्म पनि मैले चाहेजस्तो कथावस्तु र राम्रो ब्यानरबाट अफर आयो भने अवश्य गर्छु ।

प्रसंग प्रेम र विवाहतिर जाउँ, के सोच्दै हुनुहुन्छ ?

घरबाट चाहिँ फोर्स आइरहेको छ । तर, मलाई घरजमभन्दा करिअरको चिन्ता छ । त्यसैले अहिले ध्यान करिअरमै केन्द्रित छ । पहिले करिअर बनाऔँ र आफू स्थापित होऔँ र त्यसपछि सोचौँला ।

प्रेम र विवाहको प्रस्ताव थामिनसक्नु आउँछ हाला है ?

आउँछ नि । तर, अहिलेसम्म खोजेजस्तो र रोजेजस्तो भेटेकी छैन । त्यसैले ध्यान दिएकी छैन । अर्को कुरा, मलाई लभ भन्ने शब्ददेखि डर लाग्छ । किनकि लभमा फसेपछि करिअर डामाडोल हुन्छ । लभ ‘सक्सेस’ भयो भने ठीकै छ, धोका भयो भने गाह्रो हुन्छ । एकपटक भोगी सकेकी छु ।

प्रतिक्रिया दिनुहोस्