काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन बाँकी नेपालीलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ । दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै इजरायलमा बाँकी रहेका नेपालीलाई फर्कनका लागि सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जनाएको हो ।

हालसम्म नेपाल फर्कन चाहने द्ुई सय नेपालीले अनलाइन रजिष्ट्रेशन विवरण प्राप्त भएको समेत दूतावासले जनाएको छ । त्यस्तै निधन भएका १० नेपाली विद्यार्थीको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको समेत दूतावासले जनाएको छ ।
हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १ जनालाई उद्धार उडानमार्फत नेपाल पठाइएको र उपचाररत अर्का १ जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको दूतावासले जनाएको छ । अन्य २ जनाको भने उपचार भैरहेको विज्ञप्तिमा उल्लेख छ ।
हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यलाई तीव्रता दिन इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीसँग पुनः अनुरोध गरिएको दूतावासले जनाएको छ । नेपाल सरकार र दूतावासको सहयोगमा २५४ जना नेपालीको शुक्रबार बिहान उद्धार गरिएको थियो ।















