काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । कोशी प्रदेशको मुख्यमन्त्री चयन गर्ने विषयमा कोशीका सांसदहरूबीच विभाजन देखिएपछि त्यसबारे छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो सभापति देउवाको निवास धुम्बाराहीमा पार्टीको कार्यसम्पादन समितिको बैठक ३ बजे बस्न लागेको जानकारी दिएका हुन् । कोशीमा संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी गर्ने समय शुक्रबार (आज) साँझ ५ बजे सकिँदैछ ।

सभापति देउवाले कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको गठबन्धनबाट इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । तर, प्रदेशसभामा रहेका कांग्रेस नेता शेखर कोइराला समूहका सांसदले भने देउवाको निर्णय स्वीकार अस्वीकार गरेका छन् ।
नेपाली कांग्रेस कोइराला समूहका सांसद केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनलाई नेकपा एमालेका ४० र कांग्रेसकै ८ जना सांसदको समर्थन छ । त्यस्तै, गठबन्धन दलहरुले भने संसदीय दलका नेताहरुले हस्क्षातार गरेर नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन् ।














