
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको बताएका छन् ।
शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको जिकिर गरे ।
‘आज विहान मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, म र शेखर कोइरालाको बीचमा समझदारी बनाएका छौं । हामी गठबन्धन बलियो बनाउने कुरामा अझ दृढ र स्पष्ट छौं, कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिइने छैन भन्ने सहमति भएको छ’ प्रचण्डले भने, ‘अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो, त्यसैले यो समस्या जसरी सोचिएको थियो, ल्याण्डिङ हुँदाखेरि सेफल्याण्डिङ गरेका छौं ।’
नेपाली कांग्रेसका नेता केदार कार्की आज (शनिबार) कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।














