Logo
Logo

एआइजीको नेतृत्वमा सञ्चालित सशस्त्रको पम्पबाट उपभोक्ता ठगिँदै, ठूलो घोटालाको आशंका


37.7k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले हलचाेकस्थित हेडक्वार्टर नजिकै सञ्चालन गरेको ‘हलचाेक फ्यूल सेन्टर’बाट सर्वसाधारण ठगिँदै आएको प्रारम्भिक तथ्य फेला परेको छ । हाललाई सो पम्प सिल गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि पेट्रोल पम्पहरूको अनुगमनमा गएको ‘रेपिड रेस्पोन्स टिम’ले यस पम्पले तोकिएको मूल्य लिएर कम परिमाण बिक्री वितरण गरिरहेको भेटेको हो । त्यस लगत्तै पम्प सिल गरिएको छ ।  ‘रेपिड रेस्पोन्स टिम’ले पम्प सिल गरिएको बताए पनि सशस्त्र प्रहरीले भने एउटा नोजल मात्र बन्द गरिएको प्रतिक्रिया दिएको छ ।

तोकिएको मूल्य लिएर कम परिमाण बिक्री गरिनुलाई सशस्त्रले भने सामान्य लिएको छ । सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले यस विषयलाई सामान्य लिनुपर्ने प्रतिक्रिया दिएका छन् । 

प्रवक्ता खड्काले भने– ‘यो सामान्य कुरा हो । एउटा नोजलले कहिले कम र कहिले धेरै फ्याँक्ने गरेको छ । अहिलेलाई यो सिल गरिएको छ । भोलि नै समस्या समाधान हुन्छ । त्यति ठूलो कुरा होइन ।’

तोकिएको मूल्य लिएर तोकिएको भन्दा कम परिमाणमा पेट्रोलियम पदार्थ बिक्री गर्नुलाई सशस्त्रले सामान्य रूपमा लिए पनि गम्भीर विषय रहेको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउँछन् । महर्जनले भने– ‘उपभोक्ता ठगिने, त्यो पनि सरकारी स्वामित्वबाट सञ्चालित पम्पबाट ? यो सामान्य विषय होइन । गम्भीर विषय हो । सशस्त्रले पेट्रोल पम्पको नामबाट ठगी गरेको छ । कारबाही हुनु पर्छ ।’

महर्जनले यस विषयलाई उपभोक्ता ठगिने विषय मात्र नभएर सशस्त्र भित्रको घोटालासँग सम्बन्धित रहेको समेत बताएका छन् । उनले भने– ‘यो उपभोक्ता ठगिने विषय मात्र होइन । यो घटनाले सशस्त्रभित्र पेट्रोलियम पदार्थको नाममा घोटाला भइरहेको तथ्य उजागर गर्छ । जसले जसरी लुकाउन खोजे पनि यो ठगी नै हो, घोटाला नै हो ।’

एआइजी गौतमको नेतृत्वमा पम्प

सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रले सञ्चालन गर्दै आएको यस पम्प हेडक्वार्टरकाे मानव स्रोत विभाग अन्तरगत रहन्छ । यो विभागमा एआइजीको नेतृत्व रहने गर्दछ ।

हाल एआइजी सीपी गौतमले मानव स्रोत विभाग नेतृत्व गरिरहेका छन् । उनैको नेतृत्वमा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्र सञ्चालन हुन्छ । र, पम्प यसै अन्तरगत सञ्चालनमा छ ।

एआइजी गौतमले यो विभाग सम्हाल्नु अगाडि अर्का एआइजी नारायणदत्त पौडेलले सम्हाल्दै आएका थिए ।

अनुगमन टोलीमा प्रधानमन्त्री प्रचण्डको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर तथा नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायका उच्चपदस्थ कर्मचारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्