
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन् ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।
चीनमा रहेका श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात भएको थियो । उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कजेजमा उपचार भइरहेको मन्त्री शर्माले बताए । मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको पनि मन्त्री शर्माले जानकारी दिए ।
‘प्रधानमन्त्री ज्युले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनका लागि नेपाली राजदूतसँग जानकारी लिइराख्नुभएको छ । उपचारका क्रममा केही दिन उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा नै रहने जानकारी आएको छ’, मन्त्री शर्माले भने ।














