Logo
Logo

तलेजुलाई मूलघरबाट दसैँघर भित्र्याइयो


756
Shares

भक्तपुर । भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा विधिवतरूपमा बडादसैँ सुरु भएको छ । आज बिहान ८ः२४ बजेको शुभसाइतमा तलेजुलाई मूलघरबाट मूलचोकमा विराजमान गराई दसैँघरमा भित्र्याइएको हो ।

राजप्रतिनिधिका रूपमा तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग बोकेर अन्यले खड्गलगायतका विभिन्न धार्मक हतियारसहित लामबद्ध भएर विषेश प्रकारको पोशाक र विभिन्न बहुरत्न गहना पहिरिएर तलेजुको मूलमूर्तिलाई बोकेर १९ जनाले तलेजुलाई विधिवतरूपमा दसैँघर पुर्याइएको हो । आजदेखि विजयादशमीको दिनसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको उनले जानकारी दिए ।

रातो र सेता कपडाको विशेष प्रकारको पोशाक, पछ्यौरा र पगरी लगाएका तलेजुका पुजारी, नाइकलेलगायतले धार्मिक विधिअनुसार विशेष पूजा गरी तलेजुलाई दसैँघर लैजाँदा परम्परागत विशेष बाजा बजाइएको थियो । विजयादशमीको दिन भने तलेजुलाई विजययात्रा गरी दसैँघरबाट मूलघरमा भित्र्याइने मूल नाइके जोशीले जानकारी दिए । फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिइन्छ ।

तलेजुलाई दसैँघर भित्र्याउँदा जिल्लाका सरकारी निकायका प्रमुख र सर्वसाधारणको भीड लागेको थियो । आजको दिन तलेजुको दर्शन गरेमा असिम पुण्य प्राप्त हुने जनविश्वास रहेकाले तलेजुको मूलचोकमा सर्वसाधारण उभिएर तलेजुको दर्शन गर्दै दसैँघरमा भित्र्याएको हेरिरहेका थिए भने सरकारी निकायका प्रमुख एवं उनका परिवारलाई भने भिआइपी कक्षमा प्रवेश गराएर अवलोकन गराइएको थियो । दसैँघर भित्र्याएपछि मूल नाइके जोशीले तलेजुको फूलमाला तथा प्रसाद प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्