Logo
Logo

ओलीको तुइनमुक्त नेपाल घोषणाको कुरा, कहिले होला पूरा ?


अमर खत्री 

3.8k
Shares

दार्चुला । एमाले अध्यक्ष केपी शर्मा ओली २०७२ असोज २५ गते पहिलोपटक प्रधानमन्त्री बने । प्रधानमन्त्रीको कुर्सीमा बस्नासाथ उनले देशभरका तुइन हटाउने उद्घोष गरे । दुई वर्षभित्र ३ सय ८५ वटा तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गरेका थिए । 

पहिलोपटक प्रधानमन्त्रीको कुर्सीमा बस्नासाथ तुइन विस्थापित गरी पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेको आठ वर्ष बित्यो । तर, अझै दार्चुला तुइनमुक्त हुन सकेको छैन । ओली २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बने । तर, दार्चुलालाई तुइनमुक्त बनाउनेमा उनको ध्यानै गएन ।

दार्चुलाको व्यास गाउँपालिकाका स्थानीयका आफ्नो ज्यान जोखिममा राखेर अहिले पनि तुइनको प्रयोग गर्न बाध्य छन् । झोलुङ्गे पुल नहुँदा व्यास गाउँपालिका २ र ५ का स्थानीयले महाकाली नदी वारपार गर्न तुइनको प्रयोग गर्छन् । 

व्यास गाउँपालिका नम्बार दुईका दुम्लिङ, बुदी र वडा नम्बर पाँचका स्याँकु र धौलाकोटका स्थानीय  तुइनमार्फत वारपार गर्न बाध्य छन् । दैनिक उपभोग्य वस्तुका लागि तुइनमार्फत नै उनीहरु भारतीय बजार जान्छन् । दैनिक उपभोग्य समानको जोहो गर्न ज्यानको बाजी थापेर महाकालीमाथिको तुइनमा झुण्डिछन् । 

व्यास गाउँपालिका– २ र ५ का गाउँबाट झोलुङ्गे पुल टाढा छ । उनीहरूलाई पुल प्रयोग गर्न घण्टौँ हिँड्नुपर्छ । झोलुङ्गे पुल निर्माणका लागि सरकारसँग माग गरे पनि कुनै सुनुवाइ नभएको स्थानीयको दुःखेसो छ । 

दार्चुलास्थित महाकाली नदीमाथि नेपाल–भारत जोड्ने १० वटा झोलुङ्गे पुल छन् । तर, व्यास गाउँपालिका दुम्लिङ, बुदी, स्याँकु र धौलाकोमा अझै झोलुङ्गे पुल बनेका छैनन् । जोखिमपूर्ण तुइनबाटै आवतजावत गर्दा कयौँ मानिस अकालमै मरिसकेका छन् । 

यहाँका स्थानीय सधैं मनमा डर बोकेर तुइन प्रयोग गर्न बाध्य छन् । दार्चुला सदरमुकाम खंलगा आवतजावत तथा खाद्यान्न आपूर्ति गर्न पनि तुइनकै सहारा लिनुपरेको छ । नेपाल–भारत सीमावर्ती बजार धारचुला ओहोरदोहोर तुइनकै भरमा हुन्छ । 

६४ जनाको काल बन्यो तुइन

जिल्ला प्रहरी कार्यालय दार्चुला र व्यास गाउँपालिका–२ को तथ्याङ्कअनुसार पछिल्लो ६५ वर्षमा ६४ जनाको तुइनबाट खसेर मृत्यु भएको छ । तीमध्ये तीन जनाको मात्रै शव फेला परेको छ । ६१ जना अझै बेपत्ताको सूचीमा छन् । 

तुइनबाट खसेर सबैभन्दा बढी व्यास गाउँपालिका–२ का स्थानीयको मृत्यु भएको छ । यहाँको २५ जना बेपत्ता छन् । त्यस्तै, व्यास गाउँपालिका–६ का ८, व्यास गाउँपालिका–५ का १९, व्यास–३ का ५ र व्यास–४ का ३ जना वेपत्ता छन् । 

त्यसैगरी नौगाड गाउँपालिकाका १, दोलखाको भीमेश्वर नगरपालिका–६ का १, कैलाली लम्कीका १ र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट खसेर बेपत्ता भएका छन् । 

व्यास गाउँपालिका–२ को तल्लो दुम्लिङघाटस्थित तुइनबाट १२, व्यास–५ को ठन्डापानीस्थित तुइनबाट ११, व्यास–२ को मालघाट तुइनबाट ९, व्यास–५ को तिगरमघाट ६ र व्यास–६ को एलागाड तुइनबाट ५ जना महाकालीमा खसेर बेपत्ता भएका छन् । 

त्यस्तै, व्यास व्यास गाउँपालिका–४ को मगडागाउँबाट ४, व्यास गाउँपालिका– ६ को कालागाड, व्यास गाउँपालिकाको नाजीघाट र फताङघाटबाट खसेर तीन–तीन जना बेपत्ता भएका छन् । त्यसैगरी बिन्दलामा दुई तथा कल्जु, महाकाली, बर्तीघाट, बल्जुडी र घाटीबगडस्थित तुइनबाट खसेर एक–एक जना बेपत्ता भएका छन् । 

दोलखाको भीमेश्वर–६ का ४२ वर्षीय इन्जिनियर राजेन्द्र न्यौपाने दार्चुलामा तुइनबाटै खसेर मृत्यु भयो ।  उनी १३ जेठ २०७६ मा तुइनबाट खसेर महाकालीमा बिलाएका थिए । उनी व्यास गाउँपालिका– ४ को बर्तीघाटस्थित तुइनबाट तत्कालीन सुनसेरा गाविस जाने क्रममा महाकाली नदीमा खसेका थिए ।

प्रतिक्रिया दिनुहोस्