
काठमाडौं । आगामी फागुन २० गतेबाट राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदै छ । राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ । तर, प्रत्येक एक तिहाइ सदस्यको कार्यकाल दुई वर्षमा सकिने प्रावधान अनुसार राष्ट्रियसभाका २० सांसदको पदावधि आगामी फागुन २० गतेबाट सकिने भएको हो ।
पदावधि सकिनेमा नेकपा एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसद रहेका छन् । जसमा राष्ट्रियसभाका अध्यक्ष, राज्यमन्त्री, विभिन्न पार्टीका संसदीय दलका पदाधिकारी समेत रहेका छन् ।
एमालेबाट राष्ट्रियसभा अध्यक्ष समेत रहेका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल रहेका छन् ।
दिलकुमारी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति हुन् भने विमला राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । यस्तै कांग्रेस राष्ट्रिय सभा दलको नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि पनि फागुन २० मा सकिने छ । पन्थ दिगो विकास तथा सुशासन समिति सभापति हुन् ।
माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी तथा एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा पनि फागुन २० मा विदा हुने छन् । जसपाका प्रमिलाकुमारी यादव र स्वतन्त्रका खिमलाल देवकोटा पनि फागुन २० बाटै पदमुक्त हुँदैछन् । जसपाकी प्रमिला अहिले राज्यमन्त्री छिन् ।
रिक्त हुने ती पदमा पूर्तिका लागि निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आगामी माघ १०, ११ र १२ गते एक दिनका लागि निर्वाचनको मिति प्रस्ताव गरेका हुन् ।
निर्वाचन आयोगले निर्वाचनको मिति प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले अन्तिम निर्णय गर्नेछ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।














