Logo
Logo

१० वर्षपछि नेपाल टी-२० विश्वकपमा छनोट


2.5k
Shares

काठमाडौं । आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट भएको छ ।

नेपाल १० वर्षपछि आईसीसी टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकमा स्थान पक्का गरेको हो ।
युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७ ओभार एक बलमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा आसिफ शेख अर्धशतक पारी खेले । ५० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै उनले नटआउट ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले २० बलमा नटआउट ३५ रन बनाए ।

ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए । उनी तेस्रो ओभरको अन्तिम बलमा निलान्स केस्वानीको बलमा मोहमद वासीमबाट क्याच भए । गुल्सन झा बासिल हमीदबाट २२ रनमा बोल्ड भए ।

त्यसअघि शुक्रबार विहान टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन जोडेको थियो ।

युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरेका थिए । अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लबाट क्याचआउट हुनुअघि उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाएका थिए ।

पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए ।

त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिएका थिए । नेपालसँगै काठमाडौंमा भएको छनोट खेलबाट ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ ।

नेपालले फाइनल खेल अब पुन: ओमानसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्