बाँके । योगराज ढकाल ‘रिगल’लाई थप सजाय भुक्तान गराउन जिल्ला कारागार बाँके पठाइएको छ । सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो । जिल्ला अदालत बाँकेले उनलाई जिल्ला कारागार पठाएको हो ।
जिल्ला अदालतका सहसिलदार प्रेमराज खनियाले रिगललाई कारागार चलान गरिएको बताए । रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने छ । कैदी पूर्जीसहित रिगललाई जिल्ला कारागार पठाइएको खनियाले बताए ।

गत असोज ३ गते संविधान दिवसका दिन रिगल जेलबाट छुटेका थिए । सरकारको सिफारिसमा उनलाई राष्ट्रपतिले कैद मिनाहा गरिदिएका थिए । उनको कैद मिनाविरूद्ध सर्वोच्चमा रिट परेको थियो ।
रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोकनजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए । सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वौच्चमा रिट दायर गरेकी थिइन् ।














