Logo
Logo

राष्ट्रपतिद्वारा उद्दार र राहत कार्यलाई तिव्रता दिन प्रधानमन्त्रीसँग आग्रह


315
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितहरुको राहत, उद्धार र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भएको धनजनको क्षतिबारे जानकारी लिँदै पीडित र घाइतेहरुको उपचारमा तीव्रता दिन आग्रह गरेको राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनले अनुसार भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग शनिबार टेलिफोन गरेर पौडेलले सो आग्रह गरेका हुन् । राष्ट्रपति पौडेलले विपत्तिमा आवश्यक पर्ने सबै प्रकारको व्यवस्थापनका लागि आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलले यसअघि भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताउँदै विपद्को यस घडीमा मानवीय भावले उद्धार, राहत घाइतेको उपचारमा जुट्न सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आम नागरिकलाई अपिल गरेका थिए ।

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठुलो क्षति पुगेको छ । हालसम्म जाजरकोट र रुकुम पश्चिममा जिल्लामा गरी कम्तीमा १३६ जनाको मृत्यु भएको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् । उद्दार कार्य जारी रहेकाले घाइतेहरुको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्