काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रङ्गशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका छन् ।
टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार रकम बितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रङ्गशाला बनाउने बताए ।

प्रधानमन्त्रीले भने, ‘सबैभन्दा पहिला तपाईँहरूलाई बधाइ छ। तपाईँहरूले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ । १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहेनत गर्नुहोला। कतिपय बेला जात र हार संयोगको कुरा पनि हुन्छ। विश्वकपमा पनि तपाईँहरूले राम्रो गर्नुहोला ।’
उनले अहिलेको नेपाली राष्ट्रिय टिम ‘वेस्ट टिम’ आफूले महसुस गरेको पनि बताए । उनले भने, ‘क्रिकेट मैले हेर्दै आएको छु । क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ। यो टीम नेपालको वेस्ट टीम भएको महसुस गरेको छु । क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ, यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ । खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो ।’
भरतपुर, मूलपानी र कीर्तिपुरको क्रिकेट मैदानको काम अगाडि बढाउने पनि प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै छौं । भरतपुर, मूलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ । यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ । क्रिकेट रङ्गशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौं ।’
सरकारले घोषणा गरेको पुरस्कार वितरणमा अलि ढिलो भएकाले आफूलाई पनि नमिठो लागेको उनले बताए । उनले भने, ‘हामीले घोषणा गरेको पुरस्कार बितरणमा अलि ढिलो भयो, मलाई पनि अलि नमीठो लागेको छ ।’
कार्यक्रममा नेपाली क्रिकेट टिमका क्याप्टेन रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरू उत्साहित भएको बताए ।
उनले भने, ‘यो महत्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौं। कीर्तिपुर क्रिकेट रङ्गशालामा फ्लस लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनु भएकोमा हार्दिक धन्यवाद छ। सरकारको पहलप्रति आभारी छौं । बाँकी रहेका कामहरू पनि छिट्टै पूरा हुने विश्वास लिएका छौं ।














