
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गत शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पबाट प्रभावितका लागि घोषणा गरे बमोजिमको एक करोडको चेक हस्तान्तरण गरेको छ ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुको उद्धार एवम् राहतका लागि प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
जाजरकोट केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५७ जनाको मृत्यु भएको छ भने दुई सय ५० भन्दा बढी घाइते भएका छन् । घाइते तथा स्थानीय पीडितका लागि विभिन्न सरकारी निकाय एवं सङ्घसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ ।














