Logo
Logo

भूकम्पपीडितलाई सरकारले तत्काल राहत वितरण गरोस् : झलनाथ


126
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले एकद्वार प्रणालीबाट उद्धार र सेवा कार्य गर्ने भने पनि राहत वितरणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको आलोचना गरे।

उनले महिला, वृद्धवृद्धा र बालबालिकाले राहत तथा खानपिन नपाएको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे। उनले सुत्केरी महिलाले त्रिपालसम्म नपाएको गुनासो आइरहेको भन्दै सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। उनले राहत वितरणमा सरकारले देखाएको ढिलासुस्ती आपत्तिजनक रहेको बताए।

उनले भने, ‘पश्चिम नेपालमा भूकम्पको दर्दनाक अवस्था छ। यसले सिंगो देशलाई अत्यन्त पाठ सिकाएको छ। त्यहाँ जुन प्रकारको जनधनको क्षति भएको छ। एक हप्ता पुग्न लागेको छ। सरकारले जुन एकद्वार प्रणालीबाट त्यहाँ उद्धार र सेवा कार्य गर्ने भनेको छ। तर आजसम्म पनि सामान्य भन्दा सामान्य सुत्केरीले पनि पालसम्म पाएका छैनन्। यो यदि सत्य हो भने दर्दनाक कुरा हो, दुःखद कुरा हो। सरकार किन ढिला भइरहेको छ। यस्तो इमर्जेन्सी कुरामा सरकारले जुन प्रकारको ढिलाइ गरेको छ। यो अत्यन्त आपत्तिजनक कुरा छ।’

पूर्वप्रधानमन्त्री खनालले नेपाल भूकम्पको जोखिममा रहेको उल्लेख गर्दै सरकारले आवश्यक पूर्वयोजनाका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्