Logo
Logo

झिनियाँ बेचेर मनग्य आम्दानी


567
Shares

गलकोट । तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् ।

तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका छन् ।

बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बागलुङमा तिहार नजिकिएसँगै झिनियाँ, चिनि, फिनी, भेलीलगायतका रोटीका परिकारको बनाउन व्यस्त भएको १० वर्षदेखि बागलुङ नगरपालिका–१ रामरेखामा झिनियाँ उत्पादन गर्दै आएको शर्मिला श्रेष्ठले बताए ।

यस्तै १२ वर्षदेखि बागलुङ नगरपालिका–१ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका रोटीका परिकार बनाउँदै आएका मिरा श्रेष्ठले झिनियाँसहित अन्य रोटीका परिकारकोसमेत बिक्री भइरहेको बताए । उनले यसपटक सेतो झिनियाँको उत्पादन बढाएको जानकारी दिए ।

हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ मात्रै छैन सिजनको व्यापारमा कमाएको रकमले वर्षभरी घरखर्च पुग्ने उद्यमीहरुको भनाइ छ । श्रेष्ठले विगत १२ वर्षदेखि झिनियाँ, चिनी रोटी, फिनी रोटी, सेल रोटी, भेली रोटी, खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल भएका छन् ।

मीरासँगै उनका श्रीमान् र छोराले दसैँअघिदेखि रातदिन नभनेर झिनियाँ, चिनी, फिनी, भेली र नमकिनलगायतका तयारी परिकारहरु बनाइराखेका छन् । तिहारका समयमा बढीमात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । तर बागलुङ बजारको अधिकांश झिनियाँ र तयारी रोटीको माग महिला उद्यमीहरुले धान्दै आएका छन् ।

रङ्ग मिसाइएको झिनियाँका कारण घातक रोग लाग्नसक्ने भन्दै सप्तरङ्गी झिनियाँ उत्पादन नगर्न बागलुङ नगरपालिकालेसमेत अनुरोध गरेको छ । तर उपभोक्ताले भने रङ्ग मिसिएकै झिनियाँ बढी माग गर्ने उद्यमीको भनाइ छ । उद्यमीले खाद्य रङ्ग मिसाए पनि तेलमा तार्दा रङले स्वास्थ्यमा असर गर्ने भन्दै सादा झिनियाँ उत्पादन गर्न आग्रह गरिएको छ ।

बागलुङमा थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा दुई सय ५० र सानोमा एक सय ४० मा बिक्री हुँदै आएको छ । खुद्रा र होलसेल गरी दुईथरी मूल्य कायम गरेर झिनियाँ बिक्री भइरहेको छ । यतै चिनी रोटी ८०, फिनी रोटी ७०, भेली रोटीलाई ५० र नमकिन रोटीलाई ५० मा बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्