
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तिहारपछि मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । शनिबार बसेको सत्ता गठबन्धन दलहरूको बैठकले छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति भएको हो ।
दलहरुबीच राजनीतिक भागबण्डा समेत टुंगिएको छ । कोशी प्रदेशमा काङ्ग्रेसले मुख्यमन्त्री सहित ४ मन्त्री पाउने गरि प्रारम्भिक छलफल भएको छ ।
माओवादीले ३, नेकपा एसले १ र जसपाले १ मन्त्री पाउने गरिएको छलफल भएको हो । तर जसपा कोशी प्रदेश समितिले भने तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।
पार्टीले निर्णय गरे पनि प्रदेश सभा सदस्य निर्मला सुब्बा भने सरकारमा जान इच्छुक छन् । छलफलमा जसपा पनि सरकारमा सहभागी हुने समझदारी बनेको छ ।
कोशी प्रदेशमा अहिले मुख्यमन्त्रीसहित कांङ्ग्रेसबाट सम्शेर राई, माओवादी केन्द्रबाट गणेश उप्रेती र एकिकृत समाजवादीबाट कमल प्रसाद जवेगु मन्त्री नियुक्त भएका छन् ।
दलहरूका बीचमा सहमति नजुट्दा उनीहरुले समेत मन्त्रालयको जिम्वेवारी पाएका छैनन् । उनीहरुको जिम्मेवारी पनि छठ पछाडि मात्रै तोकिने छ ।














