काठमाडौं । रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज (बुधाबर) बिहानैदेखि भक्तजनका लागि खुला भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र खुला गरिने उक्त मन्दिर आज बिहानदेखि खोल्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौं महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।
भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पका क्षतिग्रस्त मन्दिर केही वर्ष बन्द गरिएको थियो । विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि पुन भक्तजनलाई खुला गरिँदै आइएको छ ।














