काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा ६ जनाको नााम सिफारिस गरेको छ । सोमबारदेखि निरन्तर बसेको परिषदको बैठकले विवादकैबीचका नाम टुंग्याएको हो ।
कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ताहरु बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएका छन् । रिक्त एक पदमा अझै सिफारिस भएको छैन ।

राजनीतिक भागबण्डा मिलाउँदै न्यायाधीश सिफारिस गरिएको हो । सिफारिस पर्नेमा नेपाली कांग्रेसको कोटा र एमाले कोटाबाट दुई जना कानुन व्यवसायी अटाएका छन् ।
वरिष्ठ अधिवक्ताहरु पोखरेल नेपाली कांग्रेस निकट हुन् भने ढकाल एमाले निकट हुन् । पोखरेल नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनका तर्फबाट नेपाल बारको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । ढकाल एमाले निकट प्रगतीशिल कानुन व्यवसायीको सदस्य हुन् ।
रिक्त एक पदमा माओवादी केन्द्रको कोटा हो । माओवादीका तर्फबाट महान्यायाधीवक्ता दिनमणि पोखरेल, डिएन पराजुलीसहित अन्यको नाम चर्चामा थियो । तर छलफलका क्रममा सहमति हुन नसकेपछि अर्को बैठकमा टुंग्याउने गरी ६ जनाको सिफारिस गरिएको हो ।
सर्वोच्च अदालतमा कार्यरत न्यायाधीशहरु उमेरहदका कारण अवकाश भइरहने तर नयाँ सिफारिस हुन नसक्दा साढे दुई वर्षदेखि सर्वोच्च अदालतमा न्यायाधीशहरु रिक्त हुदै आएको थियो ।














