
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पहिचान आन्दोलनको नाममा अराजक गतिविधि भएको प्रतिक्रिया दिएका छन् ।
आइतबार गृह जिल्ला ताप्लेजुङ पुगेका भट्टराईलाई पहिचानवादी समूहले कालो झन्डा देखाउँदै उनी सवार गाडीमा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारपछि भट्टराईले पहिचान आन्दोलनको नाममा अराजक गतिविधि भएको प्रक्रिया दिएका हुन् ।
सचिव भट्टराईले भने– ‘पहिचान आन्दोलनको नाममा अराजक गतिविधि भयो । आजको कार्यक्रम कोशी प्रदेशसँग कुनै सम्बन्ध राख्ने कार्यक्रम थिएन । सामान्य चियापान कार्यक्रममा जुन प्रहार भयो, यो अराजक गतिविधि हो ।’
ताप्लेजुङ जानुअघि पहिचान पक्षधरसँग कुराकानी भएको र कालो झन्डा देखाएर गरिने विरोधसम्म आफूलाई स्वीकार्य रहेको बताए पनि साङ्घातिक आक्रमणको प्रयास भएको भट्टराईले बताएका छन् ।
सचिव भट्टराईले भने– ‘जिल्ला जाने क्रममा उहाँहरूसँग कुरा भएको थियो । साथीहरूलाई कालो झन्डा देखाएर चिया खान आउनुस् भनेको थिए । लोकतन्त्रमा विरोध गर्न पाइन्छ भनेका थिए । साथीहरूले हुन्छ भनेका थिए । तर, कार्यक्रम सकिएपछि केही व्यक्तिले अराजक गतिविधि गरेका छन् । यो राम्रो होइन ।’
सचिव भट्टराईले संघीयता र गणतन्त्रमाथि प्रहार भइरहेको बेला पहिचान पक्षधर त्यसको विरुद्ध लड्न छोडेर संघीयता र गणतन्त्र पक्षधरमाथि नै जाइलागेको भन्दै दुःख समेत व्यक्त गरेका छन् ।
उनले भने– ‘प्रदेश नामकरणको सन्दर्भमा विमतिहरू छन्, समाधान खोजौँ भनेकै छु । भन्दै आएकै छु । यतिखेर संघीयता र गणतन्त्रमाथि प्रहार भइरहेको छ । यस्तो अवस्थामा संघीयता र गणतन्त्र पक्षधर एक भएर संघर्ष गर्ने बेलामा आफूलाई पहिचानवादी पक्षधर भन्नेहरूले गणतन्त्रवादीमाथि प्रहार गर्नु दुःखद छ ।’














