Logo
Logo

भिडमा उत्तेजना फैलाएर कुलेलम ठोक्दै दुर्गा प्रसाईँ 


25.9k
Shares

काठमाडौँ । व्यवस्था नै उल्ट्याउने उद्घोष गरेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईँले पाँच दिनदेखि काठमाडौंका विभिन्न स्थानमा शक्ति प्रदर्शन गर्दै आएका छन् । काठमाडौं र भक्तपुरमा भएको प्रदर्शन उत्तेजना, अराजकता र सामाजिक विद्वेष फैलाउने गरि अघि बढ्न खोजेको देखिन्छ ।

प्रदर्शनको पहिलो दिन अर्थात मंसिर ७ गते प्रसाईँ समूहले बल्खुमा प्रदर्शन गर्यो ।  प्रसाईँले भड्काव र उत्तेजित अभिव्यक्ति दिएपछि स्थिति तनावग्रस्त बन्न पुग्यो । प्रदर्शनकारी उत्तेजित बनेपछि स्थिति तनावग्रस्त मात्रै बनेन, प्रहरी र प्रसाईँ समुहबीच झडप नै भयो । झडपमा पाँच प्रहरीसहित २८ जना घाइते भए । 

तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा, अश्रुग्यास र रबरको गोलीसमेत चलायो । प्रहरीले एक सय ५७ सेल अश्रुग्यास र पाँच राउन्ड रबरको गोली प्रहार गरेको थियो । 

बल्खुमा प्रदर्शन गरेको भोलिपल्ट प्रसाईँले तीनकुनेमा प्रदर्शन गर्ने उद्घोष गरेका थिए । पहिलो दिन प्रसाईँ समूह आक्रामक बनेपछि प्रहरी प्रशासनले नयाँ रणनीति अपनायो ।

मंसिर ८ गते बिहानैदेखि प्रसाईँको भक्तपुर ठिमीस्थित निवासमा प्रहरी तैनाथ गरियो । प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले प्रसाईँको घरलाई वरपरबाट घेरेर राख्यो । उनलाई  घरबाट निस्कन दिइएन । उनी, नजरबन्दमा परे । प्रसाईँलाई नजरबन्दमा राखेपछि सरकारको चर्को आलोचना समेत भयो । 

नजरबन्दमा परेका प्रसाईँले एकैदिन ३/४ पटक पत्रकार सम्मेलन गरे । छिनकोछिन पत्रकार सम्मेलन गरेका प्रसाईँले भड्काव र उत्तेजित अभिव्यक्ति दिइरहे । प्रदर्शनको लागि तीनकुने पुगेका प्रसाईँका केही समर्थकलाई प्रहरीले पक्राउ समेत गर्यो ।

त्यस दिनको साँझ स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाईं समुहबीच शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने सहमति भयो । सो सहमतिपछि प्रसाईँ नजरबन्दबाट मुक्त भए । 

प्रर्दशनको तेस्रो दिन (मंसिर ९ गते) प्रसाईँ सिफलमा भएको आन्दोलनमा सहभागी भए । विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गरे । तर, भड्काव र उत्तेजित अभिव्यक्ति दिन छाडेनन् । 

प्रदर्शनको चौथो दिन (१० गते) प्रसाईँ समूहले भक्तपुरमा मोटरसाइकल र्याली मात्रै गर्यो । प्रदर्शनकारीहरू थाकिसकेकोले ठुलो कार्यक्रम नराखेको प्रसाईँ समूहले जनाएको थियो । मोटरसाइकल र्याली सल्लाघारीमा कोणसभामा परिणत भयो  ।

एकदिन ‘थकाइ’ मारेपछि प्रसाईँ समूहले आज (सोमबार) काठमाडौंको गौशालामा प्रदर्शन गर्यो । प्रसाईँ र विवादित धर्मगुरु श्रीनिवास आचार्यको विवादित अभिव्यक्तिका कारण प्रदर्शनकारी र प्रहरीबिच झडप भयो । 

भिडलाई उचाल्न आफ्ना समर्थकसहित धर्मका नाममा अराजकता फैलाइरहेका धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेका थिए । उनले भिडलाई गौशालाको बिच सडकमा सुतेर सडक अवरुद्ध गर्न उचालिरहेका थिए । यता, प्रसाईँले त प्रहरीमाथि जाइलाग भन्दै आदेश नै दिए । 

उनीहरूले भनेअनुसार नै समर्थकले सडक अवरुद्ध गर्यो । सडक अवरुद्ध भएपछि प्रहरीले हटाउन खोज्दा उनीहरु प्रहरीमाथि नै जाइलागे । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भयो । झडपका क्रममा दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् भने धर्मगुरु आचार्य श्रीनिवाससहित १० बढि पक्राउ गरेका छन् । झडप सुरु भएपछि प्रसाईँले भने कुलेलम ठोकेका थिए ।

प्रहरीले सडक सुचारु गर्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले कहिए राउन्ड अश्रुग्यास समेत प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्