
काठमाडौँ । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरू काठमाडौं आएका छन् । सङ्घीय सरकारले प्रहरी समायोजनमा ढिलाइ गरेकाले आफूहरूलाई काम गर्न अप्ठेरो परेको भन्दै छिटो समायोजनका लागि दवाव दिन उनीहरु काठमाडौं आएका हुन् ।
उनीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्नो माग राख्ने जनाएको छ । मधेस प्रदेशका गृह, कानुन तथा सञ्चामन्त्री मोहम्मद समिमले लिखित रूपमा आफ्ना समस्याहरू प्रधानमन्त्री र गृहमन्त्रीलाई राख्ने बताए ।
उनले प्रधानमन्त्री प्रचण्डलाई दिउँसो २ बजे र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिउँसो साढे ३ बजे भेटेर ज्ञानपन पत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिए । प्रदेश सरकारहरूले लामो समयसम्म पनि प्रदेश प्रहरी गठन हुन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारहरूको गुनासो छ । यसअघि मधेस प्रदेश सरकारले प्रहरी समायोजनमा ढिला गरे आफ्नै ढङ्गले अघि बढ्ने चेतावनी दिँदै आएकोमा यस पटक सबै प्रदेशका गहृमन्त्रीहरु एकै ठाउँ उभिएर केन्द्र सरकारलाई दबाब दिन लागेका हुन् ।














