Logo
Logo

पर्यटन प्रवर्द्धनका लागि साल्पा-सिलिचुङ क्षेत्रमा महोत्सव


गोकुल भुजेल

1.1k
Shares

भोजपुर । भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभा जिल्लाको सङ्गम स्थल साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र साल्पा पोखरी र सिलिचुङ डाँडाको प्रचारप्रसार तथा उक्त क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धनका लागी मेला, महोत्सव आयोजना गरिएको छ ।

समुद्री सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा रहेको साल्पापोखरी र ४ हजार १ सय ५३ मिटरको उचाइमा रहेको सिलि चुङ डाँडा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा चर्चित भए पनी उक्त क्षेत्रमा पर्यटक आगमन थोरै भएकाले पर्यटक प्रवर्द्धनका लागी महोत्सव आयोजना सञ्चालन भएको हो ।

हाल उक्त क्षेत्रको विकास, संरक्षण, सम्वर्दन तथा प्रवर्द्धन गर्दै आएको साल्पा सिलिचुङ संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्रले वार्षिक रूपमा वैशाख, भदौ, कात्तिक र फागुनका पूर्णिमामा विशेष मेला आयोजना गर्दै आएको केन्द्रका सदस्य वीर कुमार राईले बताए । सोहि अन्तरगत मङ्सिर १० गते लागेको मेलामा विभिन्न खेलहरू सहित भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

पहिलो पटक सगरमाथा चढ्न जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले प्रयोग गरेको हिलारी मार्ग र मुन्धुम पदमार्ग हुँदै यात्रा गर्ने उक्त क्षेत्रबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन सहित धार्मिक आस्था बोकेर मानिसहरू उक्त क्षेत्रमा आउने गर्दछन् । साल्पा पोखरीमा पर्यटकहरू आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासले पूजाआजा गर्नको लागि पुग्ने जनविश्वास रहेको छ ।

साथै यस क्षेत्रमा बोली नफुट्ने बालबालिकालाई बोली दिने, निःसन्तानलाई सन्तान दिने, आफ्नो भाकल पूरा गर्न परेवा उडाउने र भगवानले मनकामना पूरा गरिदिने विश्वास रहेको छ । भने, सिलिचुङ डाँडाबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिक लगायत हिमशृङ्खला सँगै १४ प्रकारका गुराँस को जंगल, मुन्धुम पदमार्ग, धार्मिक मठ,मन्दिर, ऐतिहासिक गुम्बा,चौरी खर्क, मनोरम डाडाँहरु, नदीनाला, वन जङ्गल, रेड पाण्डा लगायतका जीवजन्तु, विभिन्न बहुमूल्य जडीबुटी लगायत विशेषताले भरिपूर्ण उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्राउन स्थानीयहरूले अर्धवार्षिक तथा वार्षिक रूपमा मेला लगाउँदै आएका छन् ।

यस क्षेत्रमा किरातीको सृष्टिदेखि, सभ्यता, बसाइसराई गर्दाका समस्या र जन्मदेखि मृत्युसम्मका संस्कार र परम्पराको वर्णन गरेको ङोपा मचिन्द्र बहादुर राई र दिल बहादुर राईले बताए । साल्पा पोखरीलाई किरात, हिन्दु, बौद्ध मार्गीहरुले साझा तीर्थस्थलका रूपमा समेत मान्दै आएका छन् ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल साल्पा पोखरी र सिलिचोङ डाँडामा पर्यटकको विकास गर्न अहिलेको आवश्यकता रहेको सङ्घीय सांसद माया राईले बताए । उनले यस क्षेत्रको धार्मिक, सामाजिक, सास्कृतीक, आर्थिक विकासका लागी स्थानीय, प्रदेश र सङ्घीय सरकार संयुक्त रूपमा लागी पर्न आवश्यक रहेको समेत उल्लेख गरे ।

त्यस्तै भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले साल्पापोखरी र साल्पा सिलिचुङ डाँडा धार्मिक, सांस्कृतिक, पर्यावरणीय क्षेत्रको विकासका लागी यसअघि अन्तर पालिका स्तरीय बैठकले पारित गरेको २४ बुदे योजना कार्यान्वयन गर्न सुझाउँदै भने, ‘यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागी जिल्ला स्थित सम्पूर्ण सरोकारवालाहरूले आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्छ । उक्त पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा सडक, आवास, खाद्यान्न लगायत सेवा सुविधा विस्तार गर्न सके उक्त पालिकाको आन्तरिक आय वृद्धि भई आर्थिक विकासमा समेत टेवा पुग्छ ।’

यता, गाउँपालिकाका अध्यक्ष दौलत कुलुङले उक्त क्षेत्रको विकासका लागी आफूहरूले गुरुयोजना निर्माण गरी लागी परेको बताए । साथै उनले स्थानीय सरकारले आवश्यक पूर्वाधार विकासका लागी प्रदेश र संघ सरकारसँग योजना माग गरेको समेत उल्लेख गरे ।

वडाध्यक्ष शिव कुमार राईले साल्पा पोखरी र सिलिचुङ डाँडाको बेस क्याम्पमा पर्यटकहरूलाई सहज आवास, शौचालय, होटेल तथा खानेपानीको व्यवस्था भएको बताए । उनले उक्त क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागी वडाको तर्फबाट वार्षिक २० लाख भन्दा बढी खर्च गर्दै आएको समेत जानकारी दिए ।

त्यस्तै वडाध्यक्षहरू विक्रम बन, सञ्जय राई, विनोद राई र गणेश बुढाथोकीले साल्पा पोखरी र सिलिचुङ डाँडामा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा आफूहरू निरन्तर लागी परेको बताउँदै आगामी दिनमा यस क्षेत्रका बारेमा आवश्यक पूर्वाधार विकाससँगै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी पर्यटकीय हवको रूपमा विकास गर्ने योजना रहेको बताए ।

त्यस्तै साल्पा पुग्न धेरै लामो पदमार्ग यात्रा गर्नुपर्ने भएकाले यसको सहजता गर्न सहज बेस क्याप सम्म सडक पुर्वाधारको विकास,आवास, विद्युत्, टेलिफोन सेवा विस्तार सँगै प्राकृतिक पर्यावरण संरक्षणमा सरोकारवालाहरूले जोड दिन आवश्यक रहेको आन्तरिक पर्यटक मनोज खनालले बताए । यस धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै मेला, महोत्सव एवं सबैलाई सहज गन्तव्यको रूपमा विकास गर्न सके थप आन्तरिक एवं बाह्य पर्यटकहरूको विकास हुने पर्यटक सुरेन्द्र देव तामाङले बताए ।

साल्पा पोखरी तथा सिलिचुङ डाँडालाई नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र राखेर पर्यटन प्रवर्द्धन गर्न पहल गरेता पनि अपेक्षित परिवर्तन भने भएको छैन । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस क्षेत्रको संरक्षण, सम्वर्दनमा स्थानीय, प्रदेश र सङ्घीय सरकारसँगै सरोकारवालाहरू तत क्षेत्रबाट लागी पर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्