काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को आर्थिक बर्ष २०८०/०८१ को केन्द्रीय स्तरको प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी आज सम्पन्न भएको छ ।
नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज नार्क अन्तरगतका ६२ वटा कार्यालयहरूको समग्र प्रगति विवरण सो समीक्षा गोष्ठीमा पेश गरिएको थियो ।

कार्यक्रममा बोल्दै कृषि मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले कृषि अनुसन्धानको विकल्प अनुसन्धान नै भएकाले बदलिदो परिस्थितिमा कृषि अनुसन्धानलाई विशेष महत्वका साथ सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले कृषि अनुसन्धानमा लगानी बढाउनुपर्ने र कृषि अनुसन्धानको नीतिमा स्पष्टता अपनाए मात्र अपेक्षित प्रतिफल प्राप्त हुने बताए ।
वर्तमान आर्थिक सङ्कटको अवस्थामा पनि नार्कले अनुसन्धानमा प्राप्त गरेको सफलता सराहनीय र सफल प्रविधिलाई सरोकारवाला सबै मिलेर किसानसम्म पुर्याउनु आवश्यक रहेको सहसचिव श्रेष्ठले बताए ।
नार्कका कार्यकारी निर्देशक डा। ध्रुवराज भट्टराईले नार्क अन्तर्गतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै अनुसन्धानका लागि प्राप्त हुने बजेटको उच्चतम् उपयोग गरि समयमै प्रतिफल प्राप्त गर्ने गरी काम गर्नुपर्ने बताए ।
उनले कृषि अनुसन्धानबाट प्रभाव हुने सेवालाई प्रभावकारी बनाउन जोड दिन र भावी योजना बनाउँदा सन्तुलित बजेट बिनियोजनमा विशेष ध्यान दिन निर्देशन दिए ।
कार्यक्रममा नार्कका वैज्ञानिक डा. विवेक सापकोटाले त्रैमासिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा पहिलो त्रैमासिकमा सम्पन्न भएका चालु र पूँजीगत कार्यक्रमहरू, वित्तीय प्रगति, बेरुजुको अवस्था लगायतका विषयहरू समेटिएका थिए ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले पहिलो त्रैमासिकमा भएको कार्यक्रम र खर्चलाई हेर्दा देशैभरीका कार्यालयहरूको प्रगति सन्तोषजनक रहेको बताए । प्रदेश स्तरका समीक्षा गोष्ठीहरू यसअघि नै सम्पन्न भइसकेका छन् ।
कार्यक्रममा नार्कका पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनाल, प्रशासन निर्देशक नविनप्रकाश पौडेल, आर्थिक प्रशासन निर्देशक मनसकुमार कंडेल, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक विनेशमान साखः, राष्ट्रिय पशु अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. स्वयमप्रकाश श्रेष्ठ, बिभिन्न महाशाखा प्रमुखहरु, बिभिन्न अनुसन्धान केन्द्रका प्रमुखहरू, वैज्ञानिकहरू लगायतको सहभागिता रहेको थियो ।











