ताप्लेजुङ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा नगरिएकोभन्दै पहिचान पक्षधरले भोलि बुधवार पनि ताप्लेजुङमा बन्दको घोषणा गरेका छन्। मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पहिचान पक्षधर समूहले बन्दको घोषणा गरेका हुन्।
विज्ञप्तिअनुसार ताप्लेजुङमा बजार पसल र यातायात बन्द हुने उल्लेख गरिएको छ। नेकपा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई र एमाले पोलिटब्यूरो तथा प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइ नगरेका कारण आन्दोलन अझ सशक्त बनाउनुपरेको सो समूहले उल्लेख गरेको छ।

आन्दोलनरत पक्षमाथि नै हमला गर्ने एमाले कार्यकर्तालाई पक्राउ गरी कारबाही गर्नुको साटो उल्टै आन्दोलनरत पक्षका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउने प्रहरी प्रशासनको गलत नियत भएको विज्ञप्तिमा उल्लेख छ।
प्रदेश १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिका जिल्ला संयोजक डम्बरबहादुर पालुङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपराधी झैँ आफ्ना साथीहरुलाई मध्यरातमा गिरफ्तार गरेको आरोप पनि लगाइएको छ।
गिरफ्तार कार्यकर्ता विपिन कङ्लिवा र आनन्द कङ्लिवालाई विनाशर्त रिहाइ नगरसम्म बुधवारदेखि चरणबद्ध आन्दोलनलाई सशक्त बनाइने विज्ञप्तिमा उल्लेख गरिएको छ। सो समूहले प्रदेशको पुनःनामाङ्कन नभएसम्म पहिचानवादी आन्दोलनलाई जारी रहने जनाएका छन्।
यसरी बजार र यातायात बन्दसहित बुधबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेका पहिचान पक्षधरले मंगलवार साँझ सदरमुकाम फुङ्लिङ बजारमा पहिचानवादी आन्दोलनलाई सहयोग गर्न बजारवासीलाई आग्रह गरेका छन्।
उक्त समूहले नै मंगलवार आह्वान गरेको बन्दका कारण मेची राजमार्गसहित ग्रामीण क्षेत्रमा यातायात ठप्प भएको हो।
बुधवारपछि पनि पक्राउ परेका साथीहरुलाई विनाशर्त रिहा नगरे वा गलत मुद्दा लगाएर फसाउन खोजिए अनिश्चितकालीन बन्द आह्वान गर्ने र आन्दोलनलाई अझ सशक्त र व्यापक बनाउने संघर्ष समितिका सदस्य सरोज कङ्लिवाले बताए।
उनका अनुसार बुधवार हुने यातायात बन्दमा चारपांग्रे र तीनपांग्रे अटोलगायत सवारीसाधन ठप्प हुने छन्।











